जनता टाइम्स

५ आश्विन २०८३, सोमबार २०:३४

भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत र पुनर्स्थापनामा सरकारको कामप्रति सत्तारुढ दलकै सचेतकको असन्तुष्टि


काठमाडौं, असोज ५ । भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुनर्स्थापनामा सरकारले गरिरहेको कामप्रति सत्तारुढ दलकै सचेतकले असन्तुष्टि जनाउनु भएकाे छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सचेतक क्रान्तिशिखा धितालले सरकारकाे काम प्रभावकारी नभएकाे भन्दै असन्तुष्टि जनाउनुभएको हाे।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सचेतक धितालले भोटेकोशीमा बाढी आएको एक महिना बित्न लाग्दा पनि सरकारले प्रभावित नागरिकको अवस्था र बेपत्ताको खोजी तथा उद्धारमा अपेक्षित प्रगति गर्न नसकेको बताउनुभएको हो।

उहाँले बाढीबाट ठूलो मानवीय क्षति भएको उल्लेख गर्दै अझै ठूलो संख्यामा नागरिकको अवस्था अज्ञात रहेको बताउनुभयो। उहाँका अनुसार हालसम्म १ हजार ४५१ जनाको मृत्यु पुष्टि भइसकेको छ भने ५ हजार ७८६ जनाको सास र लासको टुंगो लाग्न सकेको छैन। “फेला पर्छन् कि भनेर आशाको दियालो जगाइरहेका आफन्तहरूले आश मार्ने अवस्था भइसक्यो, कतिले कुशको आकृति बनाएर अन्तिम संस्कार रीतिसम्म पूरा गरिसकेका छन्,” उहाँले भन्नुभयो।

बेपत्ता नागरिकका परिवारले भोगिरहेको पीडाप्रति राज्य गम्भीर हुनुपर्नेमा जोड दिँदै सचेतक धितालले प्रभावित परिवार पुनर्उत्थानमा समेत विभिन्न प्रशासनिक तथा कानुनी समस्या देखिएको बताउनुभयो। आफन्तजनको मृत्युको औपचारिकता तथा आवश्यक कागजी प्रक्रिया पूरा हुन नसक्दा प्रभावित परिवार दोहोरो मारमा परेको उहाँको भनाइ थियो।

उहाँले बेपत्ता नागरिकका परिवारलाई राहत तथा सामाजिक सुरक्षा उपलब्ध गराउने स्पष्ट व्यवस्था तत्काल गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो। “नागरिकको कानुनी हैसियत, सम्पत्तिको हक हस्तान्तरणलगायत राज्यबाट प्राप्त हुने सेवासुविधाको उपभोगमा तत्काल न्यायिक तथा प्रशासनिक बाटो प्रशस्त गरिनुपर्छ,” उहाँले भन्नुभयो।

राहत तथा सामाजिक सुरक्षा उपलब्ध गराउने स्पष्ट कार्यविधि बनाउन ढिलाइ गर्न नहुने उहाँले बताउनुभयो। “राहत र सामाजिक सुरक्षा उपलब्ध गराउने स्पष्ट कार्यविधि तोक्न विलम्ब गरेर नागरिकलाई अन्योलमा राखिरहने छुट सरकारसँग हुनुहुँदैन,” उहाँले स्पष्ट पार्नुभयो।

भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनाका साथै बेपत्ताको खोजीलाई प्रभावकारी बनाउन सरकार थप गम्भीर र जिम्मेवार बन्नुपर्ने उहाँको जोड थियो।