जनता टाइम्स

६ आश्विन २०८३, मंगलवार ०७:१९

एमाले केन्द्रीय कमिटीको दोस्रो दिन : मनोनयनसँगै केन्द्रीय सदस्यले धारणा राख्ने


काठमाडौं, असोज ६ । नेकपा (एमाले) केन्द्रीय कमिटीको तेस्रो बैठकको दोस्रो दिन आजदेखि केन्द्रीय सदस्यहरूले पार्टी, अध्यक्षको राजनीतिक प्रतिवेदन तथा समसामयिक विषयमा आफ्ना धारणा राख्ने क्रम सुरु हुने भएको छ।

पार्टीको प्रचार तथा प्रकाशन विभागका प्रमुख नीरज आचार्यका अनुसार रामबाग पार्टी प्यालेसमा बिहान ९ बजेबाट सुरु हुने बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राख्नुहुनेछ।

प्रत्येक केन्द्रीय सदस्यका लागि बढीमा तीन मिनेटको समय निर्धारण गरिएको छ। सो अवधिमा उहाँहरूले पार्टीको अवस्था, अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन, जनतासँगको पार्टी सम्बन्ध तथा समसामयिक राजनीतिक विषयमा आफ्ना धारणा राख्नुहुनेछ।

अध्यक्ष ओलीले सोमबारको बैठकमा प्रस्तुत गर्नुभएका नौवटा एजेण्डामध्ये आठवटा एजेण्डामाथिको कारबाही आजबाट अघि बढाउने तयारी छ। बैठकमा केन्द्रीय सदस्य मनोनयन, विभाग गठन, पोलिटब्युरो गठन तथा स्थायी कमिटी गठनलगायतका एजेण्डा क्रमशः अघि बढाइने भएको छ।

त्यसैगरी सल्लाहकार परिषद्, ज्येष्ठ कम्युनिष्ट मञ्च तथा अनुशासनसम्बन्धी विषयमा आवश्यक दृष्टिकोण तय गर्ने कार्य पनि यही बैठकबाट अघि बढाउने तयारी गरिएको छ।

एमाले स्रोतका अनुसार आजै केन्द्रीय सदस्यहरूको मनोनयनसँगै बैठकमा नेताहरूले धारणा राख्ने क्रम सुरु हुनेछ। पोलिटब्युरो, स्थायी कमिटी गठन तथा नेताहरूको जिम्मेवारी बाँडफाँडको काम भने भोलि अघि बढाउने तयारी रहेको एक पदाधिकारीले जानकारी दिनुभएको छ।

यसअघि सोमबार बसेको बैठकमा अध्यक्ष ओलीले पार्टीको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।