जनता टाइम्स

६ आश्विन २०८३, मंगलवार ०७:३०

प्रतिनिधिसभा बैठक आज बस्दै, नागरिक लगानी कोष संशोधन विधेयकमाथि छलफल हुने


काठमाडौं, असोज ६ । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक अपराह्न १ बजे सङ्घीय संसद् भवनमा बस्नेछ।

आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ।

यसैगरी आज विभिन्न चार वटा संसदीय समितिका बैठकसमेत बस्दैछन्। सङ्घीय संसद् सचिवालयका अनुसार अर्थसमिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका बैठक बस्ने भएका हुन्।

बिहान १० बजे बस्ने अर्थसमितिको बैठकमा ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्न बनेको विधेयक’माथि सैद्धान्तिक छलफल हुने कार्यसूची छ। बैठकमा विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराउनुभएका संशोधनकर्ता सांसदहरूसँग छलफल गरिनेछ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक पनि बिहान १० बजे बस्नेछ। बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ को मस्यौदा प्रतिवेदनमाथि छलफल हुने भएको छ।

त्यसैगरी विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ः१५ बजे बस्नेछ। बैठकमा नेपालमा स्वदेशी तथा वैदेशिक एवं निजी तथा सार्वजनिक लगानीको अवस्था, जलवायु परिवर्तनको असर र लगानीको वातावरणमा परेको प्रभावका विषयमा छलफल गरिनेछ।

बैठकमा राष्ट्रिय तथा प्रादेशिकस्तरमा आयोजना गरिने लगानी सम्मेलनको व्यवस्थापन, उपयुक्त लगानी वातावरण निर्माणका लागि आवश्यक नीतिगत तथा कानुनी सुधारलगायतका विषयमा समेत छलफल हुने कार्यसूची रहेको छ।

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बिहान ११ः३० बजे बस्नेछ। बैठकमा ‘पुस्तकालय नीति’को मस्यौदाका सम्बन्धमा विज्ञहरूसँग छलफल गरिने सङ्घीय संसद् सचिवालयले जनाएको छ।