जनता टाइम्स

६ आश्विन २०८३, मंगलवार ०८:२९

राष्ट्रको समृद्धि भौतिक पूर्वाधार निर्माणबाट मात्र होइन, सक्षम नेतृत्व र स्थिर राजनीतिबाट सम्भव हुन्छ : मुख्यमन्त्री किरण थापा


काठमाडौं, असोज ६ । वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले राष्ट्रको समृद्धि केवल भौतिक पूर्वाधार निर्माणबाट मात्रै सम्भव नहुने बताउनुभएको छ। उहाँले सक्षम नेतृत्व, स्थिर राजनीति र दूरदर्शी सोचले मात्रै समृद्धिको आधार तयार गर्ने धारणा व्यक्त गर्नुभएको हो।

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँगको तस्बिर सार्वजनिक गर्दै मुख्यमन्त्री थापा मगरले सामाजिक सञ्जालमार्फत यस्तो धारणा राख्नुभएको हो। उहाँले आधुनिकता र परम्परागत ज्ञानको समिश्रणबाट सिर्जित निर्माण नै राष्ट्रको मेरुदण्ड हुने बताउनुभएको छ। मुख्यमन्त्री थापा मगरले लेख्नुभएको छ, ‘कुनै पनि राष्ट्रको समृद्धि केवल भौतिक पूर्वाधारहरूको निर्माणबाट मात्र होइन, सक्षम नेतृत्व, स्थिर राजनीति र दूरदर्शी सोचबाट सम्भव हुन्छ। आधुनिकता र परम्परागत ज्ञानको समिश्रणबाट सिर्जित निर्माण नै हाम्रो राष्ट्रको मेरुदण्ड हुन्।’

एमालेको केन्द्रीय कमिटी बैठक जारी रहेका बेला मुख्यमन्त्री थापा मगरको यस्तो धारणा सार्वजनिक भएको हो। एमाले केन्द्रीय कमिटी बैठकमा पार्टीको निर्वाचन तथा नेतृत्वलगायतका विषयमा समेत समीक्षा तथा छलफल भइरहेको छ।

मुख्यमन्त्री थापा मगर नेकपा (एमाले) बाट वाग्मती प्रदेशको मुख्यमन्त्री बन्नुभएको हो। उहाँले अध्यक्ष ओलीसँगको तस्बिरसहित सार्वजनिक गर्नुभएको उक्त धारणालाई पार्टीको वर्तमान आन्तरिक छलफल र नेतृत्व तथा निर्वाचनसम्बन्धी समीक्षाका क्रममा आएको अभिव्यक्तिका रूपमा हेरिएको छ।