काठमाडौं, असोज ६ । नेकपा (एमाले) केन्द्रीय कमिटीको तेस्रो बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि छलफल हुँदै गर्दा बैठकको माइन्युट लेखन र बहस नोट तयार गर्ने जिम्मेवारीसमेत तोकिएको छ।
बैठकको माइन्युट लेखनको जिम्मेवारी उपाध्यक्षद्वय विष्णुप्रसाद पौडेल र गोकर्ण विष्ट तथा महासचिव शंकर पोखरेललाई दिइएको छ।
त्यसैगरी बैठकमा सदस्यहरूले राख्ने धारणा, उठ्ने विषय तथा छलफलका मुख्य बुँदाहरू समेटेर बहस नोट तयार गर्ने जिम्मेवारी उपमहासचिव योगेश भट्टराई, सचिव पद्मा अर्याल तथा केन्द्रीय सदस्यहरू सूर्य थापा, निरज आचार्य र खिमलाल भट्टराईलाई दिइएको छ।
एमाले केन्द्रीय कमिटीको बैठक आज बिहान ९ बजेबाट सुरु हुने कार्यतालिका छ। त्यसअघि बिहान ७ः३० बजे खाजा खाने समय निर्धारण गरिएको छ।
आजको बैठकमा अध्यक्ष ओलीले सोमबार प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय कमिटीका सदस्यहरूले धारणा राख्नुहुनेछ। प्रत्येक सदस्यलाई आफ्नो धारणा राख्न तीन मिनेटको समय निर्धारण गरिएको छ।
अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनमाथिको छलफलका क्रममा उठ्ने विषयलाई व्यवस्थित रूपमा अभिलेख गर्न माइन्युट लेखन तथा छलफलका मुख्य विषयवस्तु समेट्न बहस नोट तयार गर्ने जिम्मेवारी तोकिएको एमालेले जनाएको छ।












प्रतिक्रिया दिनुहोस्