काठमाडौं, असोज ६ । रसुवामा आएको बाढीपछि क्षतिग्रस्त तुइन तथा झोलुङ्गे पुलको मर्मत तथा पुनर्निर्माणलाई तीव्रता दिइएको पूर्वाधार विकास मन्त्रालयले जनाएकाे छ।
पूर्वाधार विकास मन्त्रालयका अनुसार हालसम्म चार वटा तुइन निर्माण गरी सञ्चालनमा ल्याइएको छ भने बाढीबाट क्षतिग्रस्त १३ वटा झोलुङ्गे पुलको मर्मत कार्य सम्पन्न हुने चरणमा पुगेको छ।
मन्त्रालयका अनुसार इन्द्रेणीचौर र गुम्बाडाँडा जोड्ने त्रिशूली नदीमा मोटराइज्ड तुइन निर्माण गरी सञ्चालनमा ल्याइएको छ। त्यस्तै नुवाकोटको विदुर नगरपालिका–५ देविघाट, रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५ र ६ अन्तर्गत स्याफ्रुबेँसी–चिलिमे जलविद्युत् आयोजना क्षेत्रमा तथा गोसाइँकुण्ड गाउँपालिका–६ र आमाछोदिङ्मो गाउँपालिका–१ जोड्ने हाकुबेंसीमा तुइन निर्माण गरी सञ्चालनमा ल्याइएको मन्त्रालयले जनाएको छ।
थप तीन स्थानमा तुइन जडानको तयारी भइरहेको छ। रसुवाको उत्तरगया गाउँपालिका–४ पैरेबेँसी र नुवाकोटको किस्पाङ गाउँपालिका–५ जोड्ने स्थानमा तुइन निर्माणका लागि विवादित स्थलमा सहमति जुटिसकेको मन्त्रालयले जनाएको छ।
त्यसैगरी गोसाइँकुण्ड गाउँपालिका–३ र ४ अन्तर्गत स्याफ्रुबेँसी–लाङटाङ क्षेत्रमा तुइन जडानको तयारी भइरहेको छ। उक्त क्षेत्र ‘माइन एरिया’ भएकाले स्थान परिवर्तन गर्नुपर्ने अवस्था रहेको मन्त्रालयले जनाएको छ। रसुवाको रुङ्गामा पनि तुइन जडानका लागि रेकी भइरहेको छ।
बाढीबाट क्षतिग्रस्त १३ वटा झोलुङ्गे पुलको मर्मत कार्य पनि सम्पन्न हुने चरणमा पुगेको छ। धादिङ, नुवाकोट र गोरखाका विभिन्न स्थानमा रहेका कालिकास्थान, मालिङ्गा–मझुवाटार दोभान, महेशदोभान मास्टर, केउरेनी–गहते, पिमलटार–जागाराम, चिरौंदी खोला, शीतलबजार–क्यूरेनीटार, बेल्खु–भुतिया, बादरे, महादेवस्थान, फोस्रेटार, जिलिङ र धवादीघाट झोलुङ्गे पुलको मर्मत कार्य अन्तिम चरणमा पुगेको मन्त्रालयले जनाएको छ।
बाढीबाट क्षतिग्रस्त बाँकी सात वटा झोलुङ्गे पुलको मर्मत कार्यसमेत सुरु भएको छ। ती पुलका लागि आवश्यक स्टिल पार्ट्स खरिद गर्न टेन्डर प्रक्रिया अघि बढिसकेको मन्त्रालयले जानकारी दिएको छ।
मन्त्रालयका अनुसार झोलुङ्गे पुल मर्मतका लागि आवश्यक स्टिल पार्ट्सको व्यवस्थापनअन्तर्गत पहिलो चरणमा आवश्यक सामग्री खरिद सम्पन्न भइसकेको छ भने दोस्रो चरणका लागि आवश्यक स्टिल पार्ट्स खरिद गर्न सम्झौता भएको छ।
यसैगरी बाढीबाट पूर्ण रूपमा क्षति भएका ३३ वटा झोलुङ्गे पुलको पुनर्निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने कार्य अन्तिम तयारीमा रहेको मन्त्रालयले जनाएको छ।
बाढीपछि आवागमनमा परेको समस्या समाधान गर्न तुइन तथा झोलुङ्गे पुलको तत्कालीन मर्मतसँगै पूर्ण रूपमा क्षतिग्रस्त संरचनाको पुनर्निर्माणलाई समेत प्राथमिकतामा राखेर काम अघि बढाइएको मन्त्रालयको भनाइ छ।












प्रतिक्रिया दिनुहोस्