काठमाडौं, असोज ६ । नेकपा (एमाले) केन्द्रीय कमिटीको तेस्रो बैठकअन्तर्गतको बैठक सुरु भएको छ।
रामबाग पार्टी प्यालेसमा मंगलबार बिहान पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बैठक सुरु भएको हो। बैठकमा आजदेखि केन्द्रीय सदस्यहरूले पार्टीको अवस्था, अध्यक्ष ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन, जनतासँगको पार्टी सम्बन्ध तथा समसामयिक राजनीतिक विषयमा आफ्ना धारणा राख्ने क्रम सुरु भएको छ।
बैठकमा प्रत्येक केन्द्रीय सदस्यका लागि बढीमा तीन मिनेटको समय निर्धारण गरिएको छ। सो अवधिमा केन्द्रीय सदस्यहरूले राजनीतिक प्रतिवेदनमाथि आफ्नो धारणा राख्नुका साथै पार्टीको वर्तमान अवस्था र समसामयिक राजनीतिक विषयमा सुझाव तथा टिप्पणी प्रस्तुत गर्नुहुनेछ।
अध्यक्ष ओलीले सोमबारको बैठकमा प्रस्तुत गर्नुभएको नौवटा एजेण्डामध्ये आठवटा एजेण्डामाथिको कारबाही आजदेखि अघि बढाइएको छ। बैठकमा केन्द्रीय सदस्य मनोनयन, विभाग गठन, पोलिटब्युरो गठन तथा स्थायी कमिटी गठनलगायतका विषय क्रमशः अघि बढाइने भएको छ।
त्यसैगरी सल्लाहकार परिषद्, ज्येष्ठ कम्युनिष्ट मञ्च तथा अनुशासनसम्बन्धी विषयमा आवश्यक दृष्टिकोण तय गर्ने कार्य पनि यही बैठकबाट अघि बढाउने तयारी गरिएको छ।
यसअघि सोमबार बसेको बैठकमा अध्यक्ष ओलीले पार्टीको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। उक्त प्रतिवेदनमाथि आजदेखि केन्द्रीय सदस्यहरूले धारणा राख्न सुरु गर्नुभएको हो।













प्रतिक्रिया दिनुहोस्