काठमाडौं, असोज ६ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टी अध्यक्षसँग असमझदारी र विग्रह बढाउने कुनै पनि गतिविधिमा आफू संलग्न नहुने प्रतिबद्धता जनाउनुभएको छ।
एमालेको तेस्रो केन्द्रीय कमिटी बैठकमा महासचिव पोखरेलले व्यक्त गर्नुभएको मन्तव्यका तीन महत्त्वपूर्ण बुँदा पार्टीका केन्द्रीय सदस्य एवं बैठकमा ‘बहस नोट’को जिम्मेवारीमा रहनुभएका सूर्य थापाले सार्वजनिक गर्नुभएको हो।
थापाका अनुसार महासचिव पोखरेलले अध्यक्षसँग सँगसँगै बसेर काम गरिरहेको अवस्थामा आफूबाट अध्यक्षमाथि अभियोग लगाउने काम नहुने स्पष्ट पार्नुभएको छ। पोखरेलले पार्टीमा असमझदारी र विग्रह आउने गरी आफूले विशेष महाधिवेशन आयोजनाको नेतृत्व नगर्ने पनि बताउनुभएको थापाले जानकारी दिनुभएको छ।
त्यसैगरी, अध्यक्षको असहमतिमा आफू पार्टी अध्यक्ष नबन्ने प्रतिबद्धता पोखरेलले व्यक्त गर्नुभएको छ। पोखरेलको भनाइ उद्धृत गर्दै थापाले भन्नुभएको छ, ‘पार्टी अध्यक्षसँग मेरो असहमति छँदै छैन, तपाईँलाई त्यस्तो अनुभूति छ भने भोलिको दिनदेखि नै हुनेछैन, यो विश्वास दिलाउन चाहन्छु।’
थापाले दिनुभएको जानकारीअनुसार पोखरेलले पार्टीभित्रको एकता, आपसी विश्वास र सहकार्यलाई कायम राख्ने सन्दर्भमा उक्त धारणा व्यक्त गर्नुभएको हो।
यस्तो छ उहाँले राख्नु भएको धारणाका प्रमुख तीन बुँदा :
१. सँगसँगै बसेर काम गरिरहँदा अध्यक्ष कमरेडलाई अभियोग लगाउने काम मबाट हुँदैन।
२. पार्टीमा असमझदारी र विग्रह आउने गरी मैले विशेष महाधिवेशन आयोजनाको नेतृत्व गर्दिनँ।
३. तपाईँको असहमतिमा म पार्टीको अध्यक्ष बन्दिनँ।
पार्टी अध्यक्षसँग मेरो असहमति छँदै छैन, तपाईँलाई त्यस्तो अनुभूति छ भने भोलिको दिनदेखि नै हुनेछैन। यो विश्वास दिलाउन चाहन्छु।












प्रतिक्रिया दिनुहोस्