जनता टाइम्स

६ आश्विन २०८३, मंगलवार १९:२६

एमालेमा नेतृत्व परिवर्तनका विषयमा कुनै संगठित प्रयास भएको छैन, केपी ओलीकै नेतृत्वमा पार्टी एकताबद्ध हुन्छ : महेश बस्नेत 


काठमाडौं, असोज ६ । नेकपा (एमाले) का सचिव महेश बस्नेतले पार्टीभित्र नेतृत्व परिवर्तन वा विद्रोहको कुनै अवस्था नरहेको दाबी गर्नुभएको छ। उहाँले एमाले अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्वमा पार्टी एकताबद्ध रहेको बताउनुभएको हो।

केन्द्रीय कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सचिव बस्नेतले बैठकमा सहभागी अधिकांश केन्द्रीय सदस्यले अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनको समर्थन गर्दै पार्टी एकताको पक्षमा धारणा राखेको बताउनुभयो।

उहाँका अनुसार बैठकमा अहिलेसम्म बोलेका करिब ४१ जना केन्द्रीय सदस्यमध्ये ८० प्रतिशतभन्दा बढीले अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनलाई समर्थन गर्नुभएको छ। केही नेताहरूले भने आलोचनात्मक धारणा राख्नुभएको उहाँले जानकारी दिनुभयो।

नेतृत्व परिवर्तनका विषयमा पार्टीभित्र कुनै संगठित प्रयास नरहेको दाबी गर्दै सचिव बस्नेतले उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव शङ्कर पोखरेलले समेत आफूहरू विद्रोहको पक्षमा नरहेको स्पष्ट पार्नुभएको बताउनुभयो।

महासचिव पोखरेलले अध्यक्षको चाहनाभन्दा बाहिर गएर आफूले नेतृत्व दाबी नगर्ने र विशेष महाधिवेशन बोलाउने कुनै सोच नरहेको स्पष्ट पार्नुभएको बस्नेतको भनाइ थियो।  ‘महासचिवले अध्यक्षको चाहनाभन्दा बाहिर गएर आफूले नेतृत्व दाबी नगर्ने र विशेष महाधिवेशन बोलाउने कुनै सोच नरहेको स्पष्ट पार्नुभएको छ,’ बस्नेतले भन्नुभयो । 

यस्तै, उपाध्यक्ष पौडेलले पनि पार्टीका राम्रा कामहरूलाई जनतामाझ प्रभावकारी रूपमा पुर्‍याउन बलियो र सुसङ्गठित नेतृत्व आवश्यक रहेको धारणा राखेको उनले जानकारी दिए ।

बैठक सञ्चालनका क्रममा कर्ण थापा, ठाकुर गैरे, कृष्णभक्त पोखरेललगायत केही नेताले उठाउनुभएका प्रश्नहरूलाई पनि बस्नेतले नेतृत्वविरुद्धको असन्तुष्टिका रूपमा व्याख्या गर्न नहुने बताउनुभयो। उहाँका अनुसार ती विषय मुख्यतः बैठकको विधि, व्यवस्थापन र समय व्यवस्थापनसँग सम्बन्धित छन्।

समय व्यवस्थापनका लागि अध्यक्षले महासचिव वा अन्य पदाधिकारीलाई बैठक सञ्चालनको जिम्मेवारी दिनु सामान्य प्रक्रिया भएको उहाँको भनाइ थियो।

पत्रकारहरूले जनताले केपी शर्मा ओलीको विकल्प खोजिरहेको हो कि भन्ने प्रश्न राख्दा सचिव बस्नेतले त्यसलाई अस्वीकार गर्नुभयो। उहाँले सामाजिक सञ्जाल तथा डिजिटल माध्यममार्फत एमाले र यसको नेतृत्वविरुद्ध भ्रम सिर्जना गर्ने प्रयास भइरहेको दाबी गर्नुभयो।

उहाँले अराजक, अवसरवादी तथा पपुलिष्ट शक्तिहरूले सामाजिक सञ्जालको ‘अल्गोरिदम’ प्रयोग गर्दै एमालेविरुद्ध ‘डिजिटल वार’ सञ्चालन गरिरहेको आरोप लगाउनुभयो। ‘राष्ट्रियता, विकास र समृद्धिका पक्षमा हामीले गरेका राम्रा कामहरू जनतासम्म सही ढङ्गले सम्प्रेषण हुन सकेनन्,’ उहाँले भन्नुभयो, ‘हाम्रो पार्टी डिजिटल रूपमा त्यति मैत्री हुन नसक्दा मिडियाले बनाइदिएको भाष्य र क्याप्सनका भरमा जनतामा भ्रम सिर्जना भएको हो । जनताले ओलीलाई नचाहेका होइनन्।’

पार्टीको राजनीतिक सन्देश जनतासम्म पुर्‍याउन एमालेले अब प्रविधिमैत्री अभियान सञ्चालन गर्नुपर्ने उहाँले बताउनुभयो। त्यसका लागि डिजिटल स्वयंसेवक परिचालन गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै उहाँले पार्टी अध्यक्ष ओलीकै नेतृत्वमा एमाले एकताबद्ध भएर अगाडि बढ्ने दाबी गर्नुभयो।