काठमाडौं, असोज १५ । घट्दो विवाह दर र न्यून प्रजनन दरको चुनौती सामना गरिरहेको सिंगापुरले सरकारी कर्मचारीका लागि ‘डेटिङ’ प्लेटफर्म सुरु गरेको छ।
‘फर्स्ट डेट’ नाम दिइएको यो प्लेटफर्म २१ देखि ३५ वर्ष उमेर समूहका सरकारी कर्मचारीलाई लक्षित गरिएको छ। मंगलबार सार्वजनिक गरिएको प्लेटफर्मले डेटिङ एपमा धेरै प्रोफाइल हेर्दा हुने ‘स्वाइप फटिग’ कम गर्दै सोचपूर्ण सम्बन्ध निर्माणमा सहयोग गर्ने उद्देश्य राखेको छ।
प्लेटफर्ममा सरकारी कर्मचारीले आफ्नो रुचि, बानी, धार्मिक प्राथमिकता तथा सम्बन्धमा प्राथमिकता नदिने विषयलगायतका विवरण भर्न सक्नेछन्। प्रयोगकर्ताको गोपनीयता कायम राख्ने बताउँदै प्लेटफर्मले प्रोफाइल विचार मिल्ने व्यक्तिलाई मात्र देखाइने र सम्पर्क विवरण साझा गर्ने वा नगर्ने निर्णय प्रयोगकर्ताले नै गर्न सक्ने जनाएको छ।
प्रयोगकर्ताले भेटघाटपछि अनुभवबारे प्रतिक्रिया दिन र स्टार रेटिङ गर्नसमेत सक्ने व्यवस्था गरिएको छ।
करिब ६० लाखभन्दा बढी जनसङ्ख्या रहेको सिंगापुरमा विवाह र जन्मदर घट्दै गएको छ। आधिकारिक तथ्यांकअनुसार सन् २०२५ मा विवाह दर्ता लगातार तेस्रो वर्ष घटेको थियो।
यसैबीच, सिंगापुर सरकारले जन्मदर बढाउने उद्देश्यले विभिन्न आर्थिक प्रोत्साहनसहितका कार्यक्रम अघि बढाउँदै आएको छ। अगस्टमा प्रधानमन्त्री लरेन्स वङले ठूलो परिवारलाई प्रोत्साहन गर्ने प्याकेज घोषणा गर्नुभएको थियो।
सिंगापुर यस वर्ष ‘सुपर–एज्ड’ समाजमा प्रवेश गरेको छ, जहाँ ६५ वर्ष वा सोभन्दा बढी उमेरका मानिसको हिस्सा जनसङ्ख्याको कम्तीमा २१ प्रतिशत पुगेको छ।
यसअघि जापानले पनि न्यून जन्मदरको समस्या समाधान गर्ने उद्देश्यले सन् २०२४ मा एआईमा आधारित डेटिङ एप सुरु गरेको थियो। उक्त सेवाबाट २६५ विवाह भएको बताइएको छ।












प्रतिक्रिया दिनुहोस्