काठमाडौं, भदौ ८ । अमेरिकी ‘कन्ट्री’ विधाकी प्रख्यात गायिका तथा गीतकार जेसिका लीन काठमाडौं आइपुग्नुभएको छ। काठमाडौंस्थित अमेरिकी दूतावासको निमन्त्रणामा उहाँ नेपाल आउनु भएको हो ।
अमेरिकी विदेश मन्त्रालयको शैक्षिक तथा सांस्कृतिक मामिला ब्युरोद्वारा प्रायोजित ‘आट्र्स एन्ड म्युजिक अन्भोइ’ कार्यक्रममा सहभागी हुन लीन काठमाडौं आउनु भएको हो ।
‘आट्र्स एन्ड म्युजिक अन्भोइ’ कार्यक्रम भदौ ८ देखि १३ गतेसम्म चल्नेछ । कार्यक्रममा नेपाली संगीतकर्मी तथा संगीत उद्योगका पेसाकर्मीहरू सहभागी हुने अमेरिकी दूतावासले जनाएको छ ।
‘गीत लेखन, सांगीतिक व्यवसाय, डिजिटल प्लेटफर्म, प्रतिलिपि अधिकार र बृहत्तर संगीत उद्योगमा केन्द्रित अन्तरक्रियात्मक सत्रहरूमार्फत लीन यस हप्ताभरि नेपाली गायक–गायिका, संगीतकार, गीतकार, निर्माता, कलाकार व्यवस्थापक र अन्य सांगीतिक पेसाकर्मीहरूसँग संलग्न हुनेछिन्,’ अमेरिकी दूतावासले सोमबार जारी विज्ञप्तिमा भनिएको छ ।
‘आट्र्स एन्ड म्युजिक अन्भोइ’ कार्यक्रमको समापन भदौ १३ गते शनिबार ललितपुरको पुलचोकस्थित ‘द प्लाजा’ सम्मेलन केन्द्रमा एक सार्वजनिक कन्सर्टका साथ हुनेछ । दर्ता भएका आमन्त्रित अतिथिका लागि ढोका दिउँसो ३ः३० बजे खुल्नेछ भने कार्यक्रम ठिक ४ः३० बजे सुरु हुनेछ ।
कन्सर्टमा जेसिका लीनका अतिरिक्त नेपाली कलाकारहरू रातो रानी र उजन शाक्यका पनि प्रस्तुति रहनेछन् । जेसिका लीन र प्रख्यात सारंगीवादक एवं अमेरिकी सरकारी आदानप्रदान कार्यक्रमका पूर्वसहभागी किरण नेपालीको विशेष ‘फ्युजन’ प्रस्तुति पनि उक्त साँझमा समाविष्ट छ ।














प्रतिक्रिया दिनुहोस्