जनता टाइम्स

१७ भाद्र २०८३, बुधबार १९:५१

भोटेकोशी विपद्का कारण गायिका रचना रिमालले रद्द गरिन् अस्ट्रेलिया टुर


काठमाडौं, भदौ १७ गायिका रचना रिमालले तीजको अवसरमा अस्ट्रेलियाका विभिन्न शहरमा आयोजना हुने आफ्ना सबै सांगीतिक कार्यक्रम रद्द गर्नुभएको छ।

नेपालमा भोटेकोशीसहित विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढीका कारण देश शोकमा रहेका बेला उत्सव मनाउन मनले नमानेको भन्दै रिमालले अस्ट्रेलिया टुर रद्द गर्ने निर्णय गर्नुभएको हो।

एनआरएनए वुमन फोरम नारीकुञ्ज अस्ट्रेलियाले तीजको अवसरमा विभिन्न शहरमा १० वटा सांगीतिक कार्यक्रम आयोजना गर्ने तयारी गरेको थियो। बाढी आएपछि रिमालले यसअघि कार्यक्रम स्थगित गरिएको जानकारी दिनुभएको थियो। तर, बुधबार उहाँले सबै कार्यक्रम नै रद्द गरिएको घोषणा गर्नुभएको हो।

सामाजिक सञ्जालमार्फत रिमालले अहिलेको अवस्था कुनै एक स्थान वा जिल्लाको मात्र नभई सिंगो देशको पीडा भएको बताउनुभएको छ।

“नेपालको त्यो अवस्था देखेपछि, राष्ट्रमा शोक परिरहेको समयमा मनले उत्सव मनाउन मानेन। किनकि, यो पीडा कुनै एउटा ठाउँको मात्रै होइन। कुनै जिल्लाको मात्रै होइन। यो सिंगो देशको पीडा हो,” उहाँले लेख्नुभएको छ।

धेरै तयारी, मेहनत, समय, लगानी र भावनाहरू जोडिइसकेको भए पनि अहिले राष्ट्रको दुःखभन्दा ठूलो कुरा अरू केही नभएको महसुस गर्दै कार्यक्रम रद्द गर्ने निर्णय गरेको रिमालले बताउनुभएको छ।

उहाँले अहिले देशलाई उत्सवभन्दा साथ र सहयोगको आवश्यकता रहेको उल्लेख गर्नुभएको छ।

“फेरि भेट्नेछौँ, फेरि गाउनेछौँ, फेरि नाच्नेछौँ तर अहिले होइन। अहिले हाम्रो देशलाई हाम्रो उत्सवभन्दा हाम्रो साथ चाहिएको छ। अहिले हाम्रो गीतभन्दा ठूलो उद्धारको आवाज छ। त्यसैले यसपटक हामीले उत्सव रद्द गरेका छौँ,” रिमालले भन्नुभएको छ।