जनता टाइम्स

२७ आश्विन २०८३, मंगलवार १७:३९

एमालेकाे राष्ट्रय भाेलाकाे तयारी सुरु, ३ हजार १६४ जना सहभागी हुने


काठमाडौं, असोज २७ । नेकपा (एमाले) ले आगामी मंसिर २ र ३ गते काठमाडौंमा आयोजना गर्ने राष्ट्रिय भेलाको तयारी सुरु गरेको छ। भेलालाई व्यवस्थित रूपमा सम्पन्न गर्ने उद्देश्यसहित पार्टीले पहिलो तयारी बैठक आयोजना गरेको हो।

पार्टीका उपमहासचिव लेखराज भट्टको प्रमुख आतिथ्यता तथा सचिव एवं संगठन विभाग प्रमुख भानुभक्त ढकालको अध्यक्षतामा बसेको बैठकमा राष्ट्रिय भेलाको तयारी, सहभागिता र व्यवस्थापनका विषयमा छलफल भएको छ । 

बैठकमा पार्टी सचिव तथा बागमती प्रदेश इन्चार्ज महेश बस्नेतसहित उपत्यकाका पार्टी कमिटी र जनसंगठनका नेताहरू सहभागी थिए।

बैठकमा उपमहासचिव भट्टले पार्टीका नीति, पारित दस्तावेज तथा वर्तमान राजनीतिक परिस्थितिलाई केन्द्रमा राखेर राष्ट्रिय भेला आयोजना गर्न लागिएको जानकारी गराउनुभयो।

पार्टी सचिव तथा संगठन विभाग प्रमुख ढकालका अनुसार राष्ट्रिय भेला अभिमुखीकरणमूलक हुनेछ। मंसिर २ गते बिहान ११ बजे सुरु हुने भेला मंसिर ३ गते साँझसम्म सञ्चालन हुनेछ।

भेलामा पार्टीका केन्द्रीय कमिटी, केन्द्रीय निकाय, प्रदेश, जिल्ला तथा स्थानीय तहका कमिटी, जनसंगठन र विभिन्न तहका जनप्रतिनिधिसहित ३ हजार १६४ जना सहभागी हुने ढकालले जानकारी दिनुभयो।

भेलामा पार्टीका ३४६ जना केन्द्रीय सदस्य र केन्द्रीय निकायबाट ८१ जनाको सहभागिता रहनेछ। त्यस्तै, आठ प्रदेश कमिटी, भारत प्रवास तथा प्रवासी नेपाली मञ्चका तर्फबाट ५५ जना सहभागी हुनेछन्।

जिल्ला तहबाट ४४० जना सहभागी हुनेछन्। यसमा ७७ जिल्ला, सम्पर्क कमिटीअन्तर्गतका सात जिल्ला कमिटी र राजधानी प्रदेशअन्तर्गतका चार जिल्लाका प्रतिनिधि समेटिनेछन्। त्यसैगरी, पालिका कमिटीका अध्यक्ष तथा पदाधिकारीमध्येबाट एक जनाका दरले १ हजार ५०६ जना सहभागी हुनेछन्।

यसैगरी, संघीय संसद् तथा राष्ट्रिय सभाका ३५ जना, प्रदेशसभा सदस्य १५५ जना, स्थानीय तहका मेयर तथा गाउँपालिका अध्यक्ष १९६ जना, उपमेयर तथा गाउँपालिका उपाध्यक्ष ३४२ जना र जनसंगठनबाट ९६ जना सहभागी हुने एमालेले जनाएको छ।

राष्ट्रिय भेलामार्फत पार्टीका नीति तथा दस्तावेजबारे अभिमुखीकरण गर्नुका साथै वर्तमान राजनीतिक परिस्थितिका सन्दर्भमा पार्टीका नेता तथा प्रतिनिधिबीच छलफल हुने अपेक्षा गरिएको छ।