जनता टाइम्स

२७ आश्विन २०८३, मंगलवार १८:२२

खगेन्द्र सुनारमाथि राज्यका निकायबाटै छानबिन गर्न एमालेको माग


काठमाडौं, असोज २७ । नेकपा (एमाले) का प्रचार विभाग प्रमुख निरज आचार्यले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारमाथि सरकारले र सम्बन्धित राज्यका निकायले निष्पक्ष छानबिन गर्नुपर्ने माग गर्नुभएको छ।

शोषित, पीडित र दलित समुदायको न्यायका लागि आवाज उठाउँदै आएका व्यक्ति नै सत्ताको आडमा महिलालाई डर र धम्की दिएको आरोपमा मुछिनु विडम्बनापूर्ण भएको उहाँको टिप्पणी छ।

महिलालाई ज्यान मार्ने, रगत पिउनेलगायतका धम्की दिएको भनिएको अडिओ सार्वजनिक भएपछि यो विषय पार्टीको आन्तरिक छानबिनमा मात्रै सीमित हुन नहुने आचार्यले बताउनुभएको छ। ‘महिलालाई ज्यान मार्ने, रगत पिउने र धम्की दिएको भनिएका अडियो सार्वजनिक भएपछि यो विषय अब पार्टीको आन्तरिक छानबिनमा मात्रै सीमित हुनुहुँदैन,’ उहाँले भन्नुभएको छ, ‘रास्वपाको छानबिन आफ्नो ठाउँमा छ, तर सरकारले र सम्बन्धित राज्यका निकायले पनि निष्पक्ष र स्वतन्त्र अनुसन्धान गर्नुपर्छ।’

दलित अधिकारको पक्षमा आवाज उठाउनु र महिलाको सम्मानको रक्षा गर्नु एकअर्काका पूरक विषय भएको उल्लेख गर्दै आचार्यले कुनै पनि व्यक्तिलाई धम्की र अपमान सहन बाध्य पार्न नहुने बताउनुभएको छ। ‘महिला होस् वा दलित, कमजोर होस् वा शक्तिशाली, कसैलाई पनि धम्की र अपमान सहन बाध्य पार्न पाइँदैन। सत्ता कसैलाई कानुनभन्दा माथि उठ्ने लाइसेन्स होइन,’ उहाँको भनाइ छ।

आचार्यले सुनारमाथि लागेका आरोप पुष्टि भएमा पद, पार्टी र पहुँचको आधारमा भेदभाव नगरी कानुनअनुसार कारबाही गर्नुपर्ने माग गर्नुभएको छ। उहाँले घटनाको निष्पक्ष अनुसन्धान गर्न र आरोपसँग सम्बन्धित पीडित भनिएकी महिलाको सुरक्षा सुनिश्चित गर्नसमेत सरकारसँग आग्रह गर्नुभएको छ।

यस प्रकरणमा रास्वपाले यसअघि नै आफ्नो अनुशासन आयोगमार्फत छानबिन गर्ने जनाएको छ। सांसद सुनारले भने सार्वजनिक भिडियोमार्फत अडिओ कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गरेर तयार पारिएको दाबी गर्दै आफूविरुद्ध षड्यन्त्र भएको आरोप लगाउनुभएको छ। अडिओको सत्यता र घटनासम्बन्धी आरोपबारे निष्पक्ष अनुसन्धानबाट तथ्य स्पष्ट हुन बाँकी छ।