विराटनगर, असोज २७ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आवश्यक कानुन निर्माण नगर्दा संघीय सरकारले प्रदेश सरकारहरूको कार्यसम्पादनमा बाधा पुर्याएको आरोप लगाउनुभएको छ। प्रदेशलाई काम गर्न आवश्यक कानुनी आधार नदिने तर अपेक्षाअनुसार काम गर्न नसकेको भन्दै आलोचना गर्ने प्रवृत्तिप्रति उहाँले असन्तुष्टि जनाउनुभएको छ।
विराटनगरमा आयोजित अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले संघीय सरकारले प्रदेशलाई आवश्यक अधिकार र कानुन उपलब्ध नगराउँदा प्रभावकारी रूपमा काम गर्न कठिनाइ भइरहेको बताउनुभयो।
उहाँले प्रदेश सरकारको अवस्थालाई खुट्टा बाँधेर दौडिन निर्देशन दिइएको अवस्थासँग तुलना गर्नुभयो। ‘हामीलाई दौडिन सकेन, दौडिन सकेन भनेर चौतर्फी भनिएको छ, तर हाम्रो खुट्टा बाँधिएको छ,’ मुख्यमन्त्री पाण्डेले भन्नुभयो, ‘खुट्टा बाँधेर दौड भन्दा दौडिन नसक्नु स्वाभाविक हो, अनि उल्टै नाच्न जान्दैन आँगन टेढो भनेजस्तै टिप्पणी सुन्नुपरेको छ।’
मुख्यमन्त्री पाण्डेका अनुसार प्रदेश सरकारलाई प्रभावकारी बनाउन आवश्यक कानुन निर्माण र अधिकार हस्तान्तरणमा संघीय सरकारले गम्भीरता देखाउन सकेको छैन। कानुनी तथा प्रशासनिक अवरोध कायम राखेर प्रदेशबाट मात्रै नतिजा खोज्नु उचित नभएको उहाँको भनाइ छ।
उहाँले यसअघिका प्रधानमन्त्रीहरूले समेत प्रदेशलाई बलियो बनाउने आवश्यक कानुन निर्माणमा पर्याप्त गम्भीरता नदेखाएको आरोप लगाउनुभयो।
प्रदेश सरकारको कार्यसम्पादन सुधार गर्न संघीय सरकारले आवश्यक कानुन निर्माणमा प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै मुख्यमन्त्री पाण्डेले प्रदेशलाई जिम्मेवारीअनुसार काम गर्न सक्ने वातावरण बनाउनुपर्नेमा जोड दिनुभएको छ।














प्रतिक्रिया दिनुहोस्