जनता टाइम्स

२७ आश्विन २०८३, मंगलवार ११:५३

विवादित अडियो एआईबाट बनाइएको खगेन्द्र सुनारको दाबी, छानबिन गर्न पार्टी र सरकारलाई सघाउने


काठमाडौं, असोज २७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले आफूलाई जोडेर सार्वजनिक गरिएको विवादास्पद अडियो कृत्रिम बुद्धिमत्ता (एआई) लगायतका प्रविधि प्रयोग गरेर तयार पारिएको दाबी गर्नुभएको छ। उहाँले आफूमाथि उठेका आरोपको सत्यतथ्य छानबिन गर्न पार्टी र सरकारलाई  सघाउने बताउनुभएको छ । 

फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सुनारले प्रहरीभित्रको भ्रष्टाचारविरुद्ध प्रश्न उठाएपछि आफूलाई निरन्तर निशाना बनाइएको दाबी गर्नुभएको छ। उहाँका अनुसार हिजोदेखि आफ्नो नाम जोडेर एक काल्पनिक महिलासँगको अडियो सार्वजनिक गरिएको हो। ‘सार्वजनिक भएका सबै आरोपहरू झुटा हुन्, एआई लगायत प्रविधिका प्रयोग गरेर बनाइएका प्रचारहरू हुन्,’ सुनारले फेसबुक मार्फत भन्नुभएको छ । 

आफूमाथि विभिन्न आरोप लगाएर प्रचार गरिएको दाबी गर्दै उहाँले सार्वजनिक भएका सामग्रीको सत्यतथ्य पत्ता लगाउन सम्बन्धित निकायसँग माग गर्नुभएको छ। आफूले उठाएका प्रश्नकै कारण निर्मम अत्याचार र घृणाको सामना गर्नुपरेको उहाँको भनाइ छ। ‘भ्रष्टाचारविरुद्ध प्रश्न गर्दै गर्दा एक नागरिकमाथि गरिएको निर्मम अत्याचार, घृणाको कठघरामा उभिएर म जवाफ दिन तयार छु,’ उहाँले भन्नुभएको छ।

सुनारले आफूमाथि उठेका प्रत्येक प्रश्न र आरोपको निष्पक्ष छानबिन गर्न पार्टी र सरकारसँग हार्दिक अपिल गर्नुभएको छ। यसअघि रास्वपाले पनि सांसद सुनारसँग सम्बन्धित सार्वजनिक श्रव्य सामग्री र उहाँमाथि उठेका गम्भीर प्रश्नबारे आन्तरिक छानबिन अघि बढाएको जनाएको थियो। पार्टीले छानबिन निष्कर्षमा नपुग्दासम्म उहाँलाई सार्वजनिक पदको हैसियतमा औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको छ।

यद्यपि, सार्वजनिक अडियो एआई प्रयोग गरेर बनाइएको भन्ने सुनारको दाबीको स्वतन्त्र पुष्टि भएको छैन ।