काठमाडौं, असोज २७ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य पदकी उम्मेदवार विनिता खड्काले हिरासतबाट मुक्त भएपछि आफूले न्याय प्रणालीमाथि पूर्ण भरोसा राखेको बताउनुभएको छ। आफूले नगरेको कसुरमा प्रश्न उठ्दा मन कुँडिए पनि आफ्नो निष्ठा र साथीहरूको विश्वासप्रति दृढ रहेको उहाँले उल्लेख गर्नुभएको छ।
केयर गिभरका रूपमा इजरायल पठाउने नाममा ठगी गरेको आरोपमा पक्राउ पर्नुभएकी खड्कालाई काठमाडौं जिल्ला अदालतले थुनाबाहिर राखेर अनुसन्धान गर्न आदेश दिएपछि उहाँले आफ्नो याे प्रतिक्रिया सार्वजनिक गर्नुभएको हो। ‘सम्मानित अदालतले ममाथि लगाइएका कुनै प्रमाणबिनाका यस्ता आरोपहरू निराधार ठहर गरेको छ, “सत्य अलिक ढिलो होला, तर पराजित हुँदैन” भन्ने कुरा पुनः पुष्टि भएको छ,’ खड्काले आफ्नो प्रतिक्रियामा लेख्नुभएको छ।
राजनीति र जीवनमा कहिलेकाहीँ नसोचेका परीक्षाहरू आउने उल्लेख गर्दै उहाँले अप्ठ्यारो परिस्थितिमा साथ दिने अभिभावक, नेता, साथीहरू तथा न्यायप्रेमीहरूप्रति आभार व्यक्त गर्नुभएको छ। आफूमाथि निन्दा, शंका र टिप्पणी गर्ने आलोचकहरूप्रति पनि कुनै गुनासो नरहेको उहाँको भनाइ छ। आलोचकका प्रश्नले आफूलाई अझ परिपक्व र जिम्मेवार बन्न प्रेरित गरेको खड्काले उल्लेख गर्नुभएको छ। ‘भ्रम र षड्यन्त्रहरू क्षणिक हुन्, सत्यको उज्यालो सधैँ अजर रहन्छ, यो घटनाले मलाई कमजोर होइन, अझ बलियो बनाएको छ,’ उहाँले लेख्नुभएको छ ।
आफूलाई विश्वास गर्नेहरूको भरोसालाई आत्मसात् गर्दै अझ बढी निष्ठाका साथ सेवामा समर्पित रहने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभएको छ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश तेजबहादुर खड्काको इजलासले सोमबार, असोज २६ गते खड्कालाई थुनाबाहिर राखेर अनुसन्धान गर्न प्रहरीलाई आदेश दिएको थियो। अदालतको आदेशसँगै उहाँ हिरासतबाट मुक्त हुनुभएको हो।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले केयर गिभर प्रकरणमा खड्कासहित नेपाली कांग्रेसका नेता भरतप्रसाद चौलागाईं, दोलखाकी बालिका शिवाकोटी, ज्ञानबहादुर कार्की र शिवराम श्रेष्ठलाई पक्राउ गरेको थियो। अदालतले खड्कालाई थुनामुक्त गर्न आदेश दिँदा पक्राउ परेका अन्य प्रतिवादीको बयानमा उहाँलाई दोषी ठहर गर्ने आधार नदेखिएको तथा पीडितहरूको जाहेरीमा पनि उहाँले रकम लिएको देखिने तथ्य उल्लेख नभएको पक्षलाई आधार मानेको जनाइएको छ।
कांग्रेसको केन्द्रीय सदस्य पदका लागि चुनावी प्रचारमा सक्रिय रहेका बेला खड्कालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको थियो। अदालतले उहाँलाई थुनाबाहिर राखेर अनुसन्धान गर्न आदेश दिए पनि आरोपबाट पूर्ण सफाइ भने दिएकाे छैन । खड्कालाई थुना बाहिरै राखेर घटनाबारे अनुसन्धान प्रक्रिया अघि बढ्नेछ।














प्रतिक्रिया दिनुहोस्