काठमाडौं, असोज २७ । पूर्वमन्त्री तथा नेता सुधन किराँतीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारलाई पदबाट राजीनामा दिएर आफूमाथि उठेका प्रश्नको निष्पक्ष छानबिनमा सहयोग गर्न सुझाव दिनुभएको छ।
सुनारलाई सम्बोधन गर्दै सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्नुभएका किराँतीले सांसद पदलाई ओहोदा वा सत्ताको साधनका रूपमा मात्र नभई नागरिकको भरोसा र सार्वजनिक नैतिकताको सर्वोच्च मानकका रूपमा लिनुपर्ने बताउनुभएको छ। ‘अनुहार अर्थात् पात्र फेरिँदैमा समाज बदलिँदैन, जबसम्म सोच र प्रवृत्ति बदलिँदैन,’ किराँतीले लेख्नुभएको छ।
उत्पीडन, मुक्ति र नैतिकताको एजेन्डा बोकेर आएका व्यक्तिमाथि नै गम्भीर उत्पीडन र अनैतिकतासम्बन्धी आरोप तथा प्रश्न उठेको उल्लेख गर्दै उहाँले नयाँ राजनीतिक संस्कारको उदाहरण प्रस्तुत गर्न सुनारलाई आग्रह गर्नुभएको छ। ‘अब मार्गप्रशस्त गरेर नयाँ राजनीतिक संस्कारको उदाहरण बन्न र सांसदजस्तो गरिमामय पदको मर्यादा जोगाउन आफूमाथि उठेका प्रश्नको निरुपणका लागि तत्काल पदबाट राजीनामा दिई निष्पक्ष छानबिनमा सहयोग गर्नुहोस्,’ किराँतीले लेख्नुभएको छ।
नैतिक धरातल बलियो नभएसम्म उत्पीडनबाट मुक्ति सम्भव नहुने र जनताले नयाँ राजनीतिक शक्तिमाथि विश्वास गर्न नसक्ने उहाँको भनाइ छ। ‘खगेन्द्रजी ! नैतिक धरातल बलियो नभई न त उत्पीडनको मुक्ति सम्भव छ, न त जनताले “नयाँ” भनेर विश्वास नै गर्न सक्छन्,’ किराँतीले उल्लेख गर्नुभएको छ।
रास्वपा सांसद सुनारको अश्लील गालीगलौजसहितको अडियो सार्वजनिक भएपछि उहाँमाथि प्रश्न उठिरहेका बेला किराँतीको यस्तो धारणा आएको हो। यसअघि रास्वपाले सुनारमाथि उठेका आरोपबारे पार्टीको केन्द्रीय अनुशासन आयोगमार्फत आन्तरिक छानबिन अघि बढाएको र छानबिन निष्कर्षमा नपुग्दासम्म उहाँलाई औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको जनाएको थियो।














प्रतिक्रिया दिनुहोस्