काठमाडौं, असोज २७ । विवादित अश्लील तथा धम्कीयुक्त अडिओ सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य तथा बाँके–३ का सांसद खगेन्द्र सुनार पार्टीको पूर्वनिर्धारित कार्यक्रम बीचमै छाडेर दाङबाट फर्किनु भएकाे छ ।
बागमती प्रदेशकी एक पूर्वमन्त्रीसँग सम्बन्धित भनिएको उक्त अडिओ सार्वजनिक भएपछि पार्टीले सांसदको हैसियतमा सार्वजनिक कार्यक्रममा सहभागी हुन रोक लगाएसँगै सुनार दाङबाट फर्किनुभएकाे हाे ।
आगामी निर्वाचनलाई लक्षित गरी सर्वेक्षण गर्न रास्वपाले सुनारसहित सांसद नगेन्द्रकुमार गुप्ता र सुष्मा स्वर्णकार (डिम्पल) लाई दाङ खटाएको थियो। आइतबार बेलुकी तुलसीपुर पुगेको टोलीले पहिलो दिन पश्चिम दाङका चार पालिकामा सर्वेक्षण गरेको थियो।
कार्यतालिकाअनुसार मंगलबार घोराहीसहितका क्षेत्रमा छलफल गर्ने कार्यक्रम तय भएको थियो। तर, सुनार फर्किएपछि अन्य दुई सांसदले मात्रै बंगलाचुली गाउँपालिकामा पुगेर कार्यक्रमलाई निरन्तरता दिएका छन्।
रास्वपा दाङका सभापति किरण खनालले बिहान सांसद सुनारलाई बिदाइ गरिएको जानकारी दिँदै अन्य कार्यक्रम भने पूर्वनिर्धारित तालिकाअनुसार सञ्चालन भएको बताउनुभयो।
विवादित अडिओ सार्वजनिक भएपछि रास्वपाका महामन्त्री विपीन आचार्यले विज्ञप्ति जारी गर्दै उक्त विषयमा पार्टीको अनुशासन आयोगले छानबिन गर्ने जनाउनुभएको थियो। छानबिन प्रतिवेदन नआएसम्म सुनारलाई पार्टी नेता तथा सांसदको हैसियतमा कुनै पनि सार्वजनिक कार्यक्रममा सहभागी हुन रोक लगाइएको पार्टीले जनाएको थियो।
यता, सांसद सुनारले भने दाङबाटै भिडियो सार्वजनिक गर्दै उक्त अडिओ कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगबाट तयार पारिएको दाबी गर्नु भएकाे छ। उहाँले प्रहरीले केही व्यक्तिलाई उक्साएर आफूविरुद्ध षड्यन्त्र गरिएको आरोपसमेत लगाउनु भएकाे छ।
अडिओको वास्तविकता र त्यससँग सम्बन्धित आरोपबारे भने पार्टीको अनुशासन आयोगको छानबिनपछि थप स्पष्ट हुने बताइएकाे छ । राज्यकाे तर्फबाट भने कुनै कारबाही अघि बढेकाे छैन ।














प्रतिक्रिया दिनुहोस्