काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपालले घरेलु टोली ओमानमाथि ११३ रनको शानदार जित निकालेको छ। नेपालले दिएको २६४ रनको लक्ष्य पछ्याएको ओमान ३९.६ ओभरमा १५० रनमै अलआउट भएपछि नेपालले सहज जित दर्ता गरेको हो।
ओमानका कप्तान विनायक शुक्लाले ७७ रनको उत्कृष्ट इनिङ्स खेले पनि टोलीलाई जित दिलाउन सकेनन्। जय ओडेद्राले २५ तथा जतिन्दर सिंहले १८ रन बनाए।
नेपालको जितमा बलर सन्दीप लामिछाने र नन्दन यादवले महत्वपूर्ण भूमिका निर्वाह गरे। दुवैले तीन–तीन विकेट लिए। त्यस्तै, दीपेन्द्र सिंह ऐरीले दुई तथा करण केसी र ललित राजवंशीले एक–एक विकेट हात पारे।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै २६३ रन बनाएको थियो। नेपालका लागि रोहित पौडेलले अर्धशतकीय इनिङ्स खेले। उनले ६७ बलमा ६१ रन बनाए। करण केसीले आक्रामक ब्याटिङ गर्दै मात्र १६ बलमा ४० रन जोडे। उनको इनिङ्समा चार छक्का र एक चौका समावेश थियो।
त्यस्तै, अर्जुन कुमालले ४०, इर्शान पाण्डे र बसिर अहमदले समान ३७ तथा दीपेन्द्र सिंह ऐरीले २२ रनको योगदान दिए।
ओमानका बलर शकिल अहमद, करण सोनाभेल र शाह फैसलले दुई–दुई विकेट लिए भने हसनइन शाहले एक विकेट हात पारे।
लिग–२ अन्तर्गत यसअघिको खेलमा पनि नेपालले क्यानडालाई २४ रनले पराजित गरेको थियो। ओमानमाथिको यो जितसँगै नेपालले प्रतियोगितामा आफ्नो प्रदर्शनलाई थप मजबुत बनाएको छ।














प्रतिक्रिया दिनुहोस्