जनता टाइम्स

२७ आश्विन २०८३, मंगलवार १८:३३

नेपालको ओमानमाथि ११३ रनको शानदार जित


काठमाडौं, असोज २७ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपालको अन्तिम शृंखलाको दोस्रो खेलमा नेपालले घरेलु टोली ओमानलाई ११३ रनले पराजित गरेको छ। लगातार दोस्रो जित निकालेसँगै नेपालले लिग–२ को अंकतालिकामा थप दुई अंक जोडेको छ।

ओमानको अल अमेरत क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २६३ रन बनाएको थियो। २६४ रनको लक्ष्य पछ्याएको ओमान ४० ओभरमा १५० रनमै अलआउट भयो।

ओमानका कप्तान विनायक शुक्लाले सर्वाधिक ७७ रन बनाए पनि टोलीलाई जिताउन सकेनन्। जय ओडेराले २५ र ओपनर जतिन्दर सिंहले १८ रन बनाए। ओमानका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

नेपालका नन्दन यादव र सन्दीप लामिछानेले समान तीन विकेट लिए। दीपेन्द्रसिंह ऐरीले दुई तथा करण केसी र ललित राजवंशीले एक–एक विकेट हात पारे।

त्यसअघि नेपालका लागि कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ६१ रन बनाए। उनले ६७ बलमा तीन चौका र एक छक्का प्रहार गरे। अर्जुन कुमालले ४०, इशान पाण्डे र वसिर अहमदले समान ३७ तथा दीपेन्द्रसिंह ऐरीले २२ रन बनाए।

अन्तिमतिर आक्रामक ब्याटिङ गरेका करण केसीले १६ बलमा ४० रन बनाए। उनले ४९औँ ओभरमा हसैन शाहको बलमा लगातार तीन छक्का प्रहार गर्दै नेपालको स्कोर बढाएका थिए।

नेपालले यसअघि पहिलो खेलमा क्यानडालाई २४ रनले हराएको थियो। ओमानमाथिको जितसँगै नेपालले ३४ खेलबाट २८ अंक जोडेको छ। नेपाल लिग–२ को अंकतालिकामा छैटौँ स्थानमा छ।