काठमाडौं, असोज २४ । नेपाली क्रिकेट टोली आईसीसी विश्वकप क्रिकेट लिग–२ को शीर्ष चारमा पर्न नसक्ने पक्का भएको छ। ओमानले क्यानडालाई हराएसँगै नेपालको शीर्ष चारमा पुग्ने सम्भावना समाप्त भएको हो।
नेपालले अब सिधै विश्वकप छनोट खेल्न पाउने छैन। नेपाली टोलीले विश्वकप छनोटमा पुग्न प्लेअफ खेल्नुपर्नेछ।
क्यानडालाई हराएपछि ओमानले २९ खेलबाट ३३ अंक जोडेको छ। ३२ खेल खेलेको नेपालको २४ अंक मात्रै छ। नेपालले बाँकी सबै खेल जिते पनि अधिकतम ३२ अंक मात्रै पुर्याउन सक्छ।
लिग–२ मा अमेरिका ४७ अंकसहित च्याम्पियन बनिसकेको छ। स्कटल्यान्ड ४५ अंकसहित दोस्रो र नेदरल्यान्ड्स ३८ अंकसहित तेस्रो स्थानमा छन्। ओमान ३३ अंकसहित चौथो स्थानमा छ।
नामिबिया ३१ अंकसहित पाँचौँ, क्यानडा २५ अंकसहित छैटौँ र नेपाल २४ अंकसहित सातौँ स्थानमा छन्। यूएई १९ अंकसहित आठौँ स्थानमा छ।
नेपालले लिग–२ अन्तर्गत आफ्नो अर्को खेलमा भोलि क्यानडासँग प्रतिस्पर्धा गर्नेछ।













प्रतिक्रिया दिनुहोस्