जनता टाइम्स

२४ आश्विन २०८३, शनिबार ०८:४९

पानामामा ७.७ म्याग्निच्युडको भूकम्प, दर्जनौँ संरचनामा क्षति


काठमाडौं, असोज २४ । मध्य अमेरिकी देश पानामामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। शुक्रबार गएको भूकम्पका कारण राजधानी पानामा सिटीसम्म धक्का महसुस भएको छ भने विभिन्न स्थानमा भवन, सडक र पुलमा क्षति पुगेको छ।

अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस)का अनुसार स्थानीय समयअनुसार शुक्रबार दिउँसो १ः५६ बजे भूकम्प गएको हो। यसको केन्द्रबिन्दु पानामा सिटीबाट केही घण्टाको दूरीमा रहेको अजुएरो प्रायद्वीपको पितालोसा अरिबा क्षेत्रबाट करिब नौ माइल दक्षिणपश्चिममा थियो।

भूकम्पपछि ६.९ म्याग्निच्युडको शक्तिशाली परकम्पसमेत गएको छ। भूगर्भविद्हरूले थप परकम्पलाई तत्कालको प्रमुख जोखिमका रूपमा औँल्याएका छन्।

भूकम्पबाट तटीय सहर एल भेनाओस्थित एल सिटियो होटल भत्किएको छ। होटल भत्किए पनि मानवीय क्षति नभएको बताइएको छ। विभिन्न स्थानमा घरमा चिरा परेको, पुलमा क्षति पुगेको र विद्युत् आपूर्ति अवरुद्ध भएको छ।

पानामाको राष्ट्रिय नागरिक सुरक्षा निकायका अनुसार कोक्ले, लस सान्तोस र पानामा प्रान्तमा बढी क्षति पुगेको छ। सरकारी भवन, चर्च, होटल, पानी प्रशोधन केन्द्र र सडकमा क्षति पुगेको छ। घाइतेहरूलाई उपचारका लागि स्वास्थ्य केन्द्रमा लगिएको छ भने क्षतिको विस्तृत विवरण सार्वजनिक हुन बाँकी छ।

पेनोनोमे सहरमा करिब एक दर्जन संरचना भत्किएका छन् भने अगुआदुल्सेमा छवटा भवनमा उल्लेख्य क्षति पुगेको छ। पेनोनोमेस्थित डोस कोन्टिनेन्टेस होटलको एक भाग भत्किएर पार्किङमा राखिएका गाडीमाथि खसेको छ। कोक्ले प्रान्तका गभर्नरको कार्यालय र एउटा क्याथेड्रलमा समेत क्षति पुगेको अधिकारीहरूले जनाएका छन्।

राजधानी पानामा सिटीमा पनि भूकम्पको धक्का महसुस भएपछि मानिसहरू भवनबाट बाहिर निस्किएका थिए। अग्ला भवन हल्लिँदा छतमा रहेका पौडी पोखरीको पानी सडकमा खसेको दृश्य सार्वजनिक भएको छ। यद्यपि, राजधानीको मुख्य सहरी क्षेत्रमा ठूलो क्षति नभएको स्थानीय प्रत्यक्षदर्शी र अधिकारीहरूले बताएका छन्।

भूकम्पपछि देशको प्रमुख टोचुमेन अन्तर्राष्ट्रिय विमानस्थलले उडान सेवा अस्थायी रूपमा रोकेको थियो। यात्रुहरूलाई बाहिर निकालेर सुरक्षा निरीक्षण गरेपछि करिब दुई घण्टामा उडान सेवा पुनः सञ्चालन गरिएको विमानस्थल प्रशासनले जनाएको छ।

अन्तर्राष्ट्रिय समुद्री व्यापारका लागि महत्त्वपूर्ण पानामा नहर भने नियमित रूपमा सञ्चालन भइरहेको नहर प्राधिकरणले जनाएको छ। पानामास्थित अमेरिकी दूतावासले पनि आफ्ना कर्मचारी घाइते भएको प्रारम्भिक विवरण प्राप्त नभएको जनाएको छ।

यूएसजीएसकी भूकम्पविद् सुसान हफका अनुसार प्रारम्भिक विवरणले भूकम्प ठूलो सुनामी निम्त्याउन सक्ने सबडक्शन क्षेत्रमा नभई जमिनमुनि कम गहिराइमा गएको देखाउँछ। भूकम्पको उथलो प्रकृतिका कारण केन्द्रबिन्दु नजिकका क्षेत्रमा तीव्र कम्पन महसुस भएको उनको भनाइ छ।