जनता टाइम्स

२३ आश्विन २०८३, शुक्रबार २०:३४

एन्फा अध्यक्ष र महासचिवलाई पक्राउ गर्न अदालतको आदेश


काठमाडौं, असोज २३ । ललितपुर जिल्ला अदालतले अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजबिक्रम नेम्वाङ र महासचिव किरण राईलाई पक्राउ गर्न पुर्जी जारी गर्ने आदेश दिएको छ।

जिल्ला न्यायाधीश भगवती शर्मा ढुंगानाको इजलासले उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी गर्न आदेश दिएको अदालतका सूचना अधिकारी टिकाध्वज कार्कीले जानकारी दिनुभयो।

सोही इजलासले पक्राउ परेका एन्फा कोषाध्यक्ष रविन्द्र जोशीलाई १५ लाख रुपैयाँ र लेखा अधिकृत सञ्जीव पाण्डेलाई १२ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जोशी र पाण्डेलाई केही दिनअघि पक्राउ गरेको थियो। सीआईबीको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले बिहीबार नेम्वाङ, राई, जोशी र पाण्डेसहित चार जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो।