काठमाडौं, असोज २३ । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सरकारले सेवाबाट बर्खास्त गरेकाे छ। गृह मन्त्रालयले शुक्रबारदेखि लागू हुने गरी उहाँलाई सशस्त्र प्रहरी सेवाबाट हटाउने विभागीय कारबाही गरेको हो।
गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेद्वारा जारी विज्ञप्तिअनुसार दाहालले आचरणसम्बन्धी नियम बारम्बार उल्लङ्घन गरेको, अनुशासनहीन कार्य गरेको तथा नेपाल सरकार वा आफू कार्यरत सङ्गठनको मानप्रतिष्ठा र छविमा आँच पुग्ने काम गरेको उल्लेख छ।
यसअघि सूचना चुहावटको आरोपमा दाहाल असोज १९ गते निलम्बनमा पर्नुभएको थियो। गृह मन्त्रालय स्रोतका अनुसार सशस्त्र प्रहरीका अर्का एआईजी अञ्जनीकुमार पोखरेलको नेतृत्वमा भएको छानबिनपछि दाहाललाई भविष्यमा सरकारी सेवामा समेत अयोग्य हुने गरी बर्खास्त गर्न सिफारिस गरिएको थियो।
दाहालमाथि प्रधानमन्त्री तथा गृहमन्त्रीहरूको व्यक्तिगत गतिविधि र समयसम्बन्धी सूचना निगरानी गरी चुहावट गरेको आरोप लागेको थियो। पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको मोबाइल फोनको प्राविधिक परीक्षणका क्रममा दाहालसँग सम्बन्धित सूचना फेला परेको सशस्त्र प्रहरी स्रोतले जनाएको थियो।
दाहाल पूर्वप्रधानन्यायाधीश राणाका ज्वाइँ नाताका व्यक्ति हुनुहुन्छ। असोज ११ गते राणा बाँसबारीस्थित निवासबाट पक्राउ परेपछि दाहाल उहाँलाई हिरासतमा भेट्न पुग्नुभएको थियो।
विभिन्न मुद्दामा पक्राउ परी थुनामा रहेका व्यवसायी दीपक भट्टलाई छुटाउन राणाले चलखेल गरेको तथा त्यसमा दाहालको भूमिका रहेको दाबीसमेत सशस्त्र प्रहरी स्रोतले गरेको थियो।
यद्यपि, गृह मन्त्रालयले जारी गरेको आधिकारिक विज्ञप्तिमा दाहाललाई सेवाबाट हटाउनुको कारणका रूपमा आचरणसम्बन्धी नियमको उल्लङ्घन, अनुशासनहीनता र सङ्गठनको छविमा आँच पुर्याउने कार्यलाई उल्लेख गरेको छ।














प्रतिक्रिया दिनुहोस्