जनता टाइम्स

२३ आश्विन २०८३, शुक्रबार २०:४०

ग्यास बुलेटबाट चुहावट हुँदा पृथ्वी राजमार्ग खुलाउन समस्या


काठमाडौं, असोज २३ । पृथ्वी राजमार्गमा ग्यास बुलेटबाट ग्यास चुहिएपछि सडक खुलाउन समस्या भएको सडक विभागले जनाएको छ।

शुक्रबार दिउँसो गल्छीनजिकै मछेडीमा ग्यास बुलेट पल्टिएर ग्यास चुहावट भएको थियो। चुहावटका कारण घटनास्थल आसपास जोखिम रहेकाले गलौँदीसम्म पुग्नसमेत समस्या भएको विभागले जनाएको छ।

यसैगरी, गजुरीनजिकै गलौँदीमा सडक भास्सिएको छ। उक्त स्थानमा सडकको भित्ता काटेर (ब्याक कटिङ) सडक खुलाउन सकिने विभागले जनाएको छ। रातको समय भएकाले अवस्था हेरेर मात्रै टोली परिचालन गरिने विभागको भनाइ छ।

ग्यास बुलेट दुर्घटना र सडक भास्सिएको घटनाका कारण धादिङ हुँदै काठमाडौं आवतजावत गर्ने सवारीसाधन रोकिएका छन्। हाल पृथ्वी राजमार्ग पूर्णरूपमा बन्द छ।