काठमाडौं, असाेज २३ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रोल्पाका निवर्तमान जिल्ला सभापति तथा संस्थापक रमेश थापाले पार्टी परित्याग गर्नुभएको छ। पार्टी संगठन निर्माणमा महत्त्वपूर्ण योगदान पुर्याउनुभएका इन्जिनियरसमेत रहनुभएका थापाले सामाजिक सञ्जालमार्फत आफू स्वतन्त्र रहेको घोषणा गर्दै राजनीतिबाट अलग हुने निर्णय सार्वजनिक गर्नुभएको हो।
पार्टी निर्माणमा सक्रिय भूमिका निर्वाह गर्नुभएका थापा प्रदेश तहमा पदाधिकारी वा केन्द्रीय समितिमा जिम्मेवारी पाउने अपेक्षामा रहनुभएको थियो। तर, आफूले चाहेको जिम्मेवारी नपाएपछि उहाँ असन्तुष्ट रहनुभएको बताइएको छ।
रोल्पामा कठिन परिस्थितिका बीच रास्वपाको संगठन विस्तारमा सक्रिय रहनुभएका थापाले गत निर्वाचनमा पार्टीलाई जिल्लामा दोस्रो स्थानमा पुर्याउन योगदान दिनुभएको थियो। स्थानीय तहमा संगठन निर्माण र पार्टीको उपस्थिति विस्तारमा भूमिका खेलेका उहाँको बहिर्गमनलाई पार्टीको नेतृत्व छनोट प्रक्रियासँग जोडेर हेरिएको छ।
यसैबीच, रास्वपाले रोल्पामा पूर्वप्रहरी अधिकारी विक्रमसिंह थापालाई पठाएको छ। लामो समयदेखि पार्टी संगठनमा सक्रिय रहनुभएका रमेश थापा बाहिरिनु र नयाँ व्यक्तिलाई जिल्लामा जिम्मेवारी दिनुले पार्टीभित्रको नेतृत्व व्यवस्थापन तथा संगठन सञ्चालनको प्राथमिकताबारे चर्चा सुरु भएको छ।
पार्टी निर्माणमा योगदान दिएका व्यक्तिहरूको भूमिका, नेतृत्वमा अवसरको वितरण र संगठन विस्तारको रणनीतिबारे उठिरहेका प्रश्नका बीच रमेश थापाको बहिर्गमनलाई रास्वपाका लागि महत्त्वपूर्ण घटनाका रूपमा हेरिएको छ।













प्रतिक्रिया दिनुहोस्