हेटौंडा, असोज २३ । मकवानपुर प्रहरीले ठगीसम्बन्धी कसुरमा संलग्न रहेको आरोपमा तीन युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा रौतहटको कटहरिया नगरपालिका–८ का १९ वर्षीय अजयकुमार यादव र पवनकुमार दास तथा बौधिमाई नगरपालिका–६ का २१ वर्षीय रोशन राय यादव रहेका छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले बिहीबार हेटौंडा उपमहानगरपालिका–५, सानोपोखरास्थित एक घरमा कोठा भाडामा लिएर बस्दै आएका उनीहरूको कोठामा खानतलासी गर्दा विभिन्न व्यक्तिका नाममा जारी नागरिकताका ५२ प्रतिलिपि, एनसेलका प्रयोग भइसकेका २२ र सिलप्याक २१ सिमकार्ड तथा अरूका नाममा रहेका चारवटा चेकबुक बरामद गरेको हो।
प्रहरीका अनुसार बरामद सामग्री कहाँबाट प्राप्त गरिएको र के प्रयोजनका लागि राखिएको थियो भन्नेबारे उनीहरूले स्पष्ट खुलाउन सकेका छैनन्।
बरामद सामग्रीसहित तीनै जनालाई नियन्त्रणमा लिएर ठगीसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। नागरिकताका प्रतिलिपि, सिमकार्ड र चेकबुकको सम्भावित प्रयोगबारे थप अनुसन्धान भइरहेको छ।













प्रतिक्रिया दिनुहोस्