काठमाडौं, असोज २३ । नेपाली क्रिकेट टोलीले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाउन आईसीसी विश्वकप लिग–२ को अन्तिम शृंखलामा कडा चुनौती सामना गर्नुपर्ने भएको छ।
ओमानमा जारी शृंखलामा नेपालले क्यानडा र ओमानसँग दुई–दुई खेल खेल्नेछ। अक्टोबर ११ र १७ मा क्यानडासँग तथा अक्टोबर १३ र १९ मा ओमानसँग प्रतिस्पर्धा गर्ने नेपालका लागि यी चारै खेल निर्णायक छन्।
शृंखलाको पहिलो खेलमा ओमानले क्यानडालाई पराजित गरेपछि नेपालको सन् २०२७ को एकदिवसीय विश्वकप छनोटमा सिधै पुग्ने सम्भावना समाप्त भएको छ। अब नेपालको मुख्य लक्ष्य लिग–२ को अन्तिम अंकतालिकामा शीर्ष ६ भित्र रहँदै ओडीआई मान्यता जोगाउनु हो।
आठ टोली सहभागी लिग–२ मा नेपाल ३२ खेलबाट २४ अंकसहित सातौँ स्थानमा छ। नेपालभन्दा एक अंक बढी जोडेको क्यानडा छैटौँ स्थानमा छ भने नामिबिया २९ अंकसहित पाँचौँ र ओमान ३३ अंकसहित चौथो स्थानमा छन्।
नेपालले बाँकी चारै खेल जिते अधिकतम ३२ अंक पुर्याउन सक्छ। तीन खेल जिते ३० अंक हुनेछ। तर, नेपालको अन्तिम स्थान अन्य टोलीको नतिजामा पनि निर्भर रहनेछ।
क्यानडाविरुद्धका दुवै खेल नेपालका लागि विशेष महत्त्वपूर्ण हुनेछन्। क्यानडालाई हराउन सके नेपालले प्रत्यक्ष प्रतिस्पर्धीलाई पछि पार्ने अवसर पाउनेछ। त्यसपछि ओमानविरुद्ध पनि राम्रो नतिजा निकाल्नुपर्नेछ।
पछिल्लो समय कमजोर प्रदर्शनपछि नेपालले कप्तानीमा परिवर्तन गरेको छ। अन्तिम शृंखलामा सन्दीप लामिछानेले टोलीको नेतृत्व गर्नेछन्।
सन्दीपले एकदिवसीय मान्यता जोगाउने र टोलीलाई विश्वकप छनोटसम्म पुर्याउने लक्ष्यमा केन्द्रित भएर खेल्ने बताएका छन्।
नेपालका लागि अब ब्याटिङमा निरन्तरता, बलिङमा अनुशासन र दबाबका बेला संयमित प्रदर्शन आवश्यक छ। बाँकी चार खेलको नतिजाले नेपालको एकदिवसीय भविष्य निर्धारण गर्ने भएकाले ओमान भ्रमण नेपाली टोलीका लागि निर्णायक परीक्षा बनेको छ।













प्रतिक्रिया दिनुहोस्