जनता टाइम्स

२२ आश्विन २०८३, बिहीबार ०९:२४

एनपिएल–३ लाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने प्रयासमा क्यान


काठमाडौं, असोज २२ । नेपाल क्रिकेट सङ्घ (क्यान) तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)लाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने प्रयासमा छ । त्यसका लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले माग गरेका आवश्यक कागजात क्यानले पठाइसकेको छ ।

क्यानका सचिव पारस खड्काका अनुसार अब आइसिसीको औपचारिक निर्णयको प्रतीक्षा भइरहेको छ । आइसिसीबाट स्वीकृति पाएपछि एनपिएलका टोलीलाई चर्चित विदेशी खेलाडी अनुबन्ध गर्न थप सहज हुने उहाँले बताउनुभएको छ ।

आइसिसीको मान्यता नहुँदा विदेशी खेलाडीलाई औपचारिक रूपमा सार्वजनिक गर्न केही समस्या भइरहेको टोलीहरूले बताएका छन् । मान्यता पाएपछि टेस्ट राष्ट्रका चर्चित खेलाडीलाई समेत एनपिएलमा सहभागी गराउन सहज हुने क्यानको अपेक्षा छ ।

यसपटक एनपिएलमा डेभिड वार्नर, मोइन अली, सिकन्दर राजा, इफ्तिखार अहमदलगायत अन्तर्राष्ट्रियस्तरका चर्चित खेलाडी सहभागी हुने तयारीमा छन् । ठूला विदेशी खेलाडीको सहभागिताले एनपिएलको चर्चा नेपालमा मात्र नभई अन्तर्राष्ट्रियस्तरमा समेत बढ्ने क्यानको अपेक्षा छ ।

जनकपुर बोल्ट्सका प्रमुख कार्यकारी अधिकृत निरोज खतिवडाले पनि आइसिसीबाट छिट्टै सकारात्मक निर्णय आउने अपेक्षा व्यक्त गर्नुभएको छ । उहाँका अनुसार मान्यता पाएपछि थप विदेशी स्टार खेलाडीलाई नेपाल ल्याउन सहज हुनेछ ।

क्यानका सचिव खड्काले एनपिएललाई खेलकुदसँगै पर्यटन प्रवर्द्धनको माध्यमका रूपमा विकास गर्न सकिने बताउनुभएको छ । अघिल्ला संस्करणमा सहभागी हुन आएका विदेशी खेलाडी, अम्पायर तथा कमेन्टेटरले नेपालबारे सकारात्मक अनुभव लिएर फर्किएको उहाँको भनाइ छ ।

एनपिएलमार्फत खेल पर्यटन प्रवर्द्धन गर्न सकिने उल्लेख गर्दै उहाँले अन्तर्राष्ट्रियस्तरका खेलाडीले नेपालबारे सकारात्मक धारणा अन्तर्राष्ट्रिय समुदायमा पुर्‍याउन सक्ने बताउनुभएको छ । उहाँका अनुसार यसले नेपालको पर्यटन र अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्न सक्छ ।

खड्काले एनपिएलमार्फत नेपाल अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न सक्षम र सुरक्षित रहेको सन्देश दिन सकिने बताउनुभएको छ ।

एनपिएलको तेस्रो संस्करण कात्तिक ९ गतेदेखि काठमाडौंस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सुरु हुँदैछ । फाइनल खेल मङ्सिर ५ गते हुनेछ ।

प्रतियोगितामा आठ टोली सहभागी हुनेछन् । उद्घाटन खेलमा गत संस्करणको विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ ।