जनता टाइम्स

२७ आश्विन २०८३, मंगलवार ०७:००

विश्वकप लिग–२ मा आज नेपाल र ओमान भिड्दै


काठमाडौं, असोज २७ । आइसिसी विश्वकप लिग–२ अन्तर्गत आज नेपालले ओमानसँग प्रतिस्पर्धा गर्दैछ। खेल ओमानको इमारात रंगलालामा नेपाली समयअनुसार बिहान पौने १२ बजे सुरु हुनेछ।

सन् २०२७ मा हुने एकदिवसीय विश्वकपको ग्लोबल छनोटमा स्थान पक्का गरिसकेको ओमान लिग–२ को अंकतालिकामा चौथो स्थानमा छ। ओमानले २९ खेलबाट १४ जित र ११ हारसहित ३३ अंक जोडेको छ।

नेपाल भने एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउने अभियानमा छ। अंकतालिकाको छैटौँ स्थानमा रहेको नेपालले ३३ खेलबाट १२ जित र १९ हारसहित २६ अंक जोडेको छ। आइतबार क्यानडालाई पराजित गरेपछि नेपाल एक स्थान माथि उक्लिएको हो।

नेपाल र ओमानबीच अहिलेसम्म ११ एकदिवसीय खेल भएका छन्। तीमध्ये ओमानले ६ खेल जित्दा नेपालले पाँच खेलमा सफलता हात पारेको छ।

पछिल्लोपटक एसिसी प्रिमियर कपमा भएको भेटमा नेपालले ओमानलाई ८७ रनले पराजित गरेको थियो। आजको खेलमा नेपाल जित निकाल्दै अंकतालिकामा आफ्नो स्थिति सुधार गर्ने लक्ष्यमा हुनेछ।