जनता टाइम्स

२५ आश्विन २०८३, आईतवार २०:२९

क्यानडाविरुद्ध नेपालको २४ रनको जित, रोहित पौडेलको शतकीय इनिङ्स


काठमाडौं, असाेज २५। आईसीसी विश्वकप लिग–२ अन्तर्गतको खेलमा नेपालले क्यानडालाई २४ रनले पराजित गरेको छ। ओमानस्थित अल अमिरातमा सम्पन्न खेलमा नेपालले दिएको २३६ रनको लक्ष्य पछ्याएको क्यानडा ४८.४ ओभरमा २११ रनमा समेटिएपछि नेपाल विजयी भएको हो।

क्यानडाका लागि आरोन जोनसनले सर्वाधिक ४४ रन बनाउनुभयो। समित गोहेलले ३५, अखिल कुमारले अविजित ३० तथा श्रेयस मोव्वा र हम्जा तारिकले समान २६ रनको योगदान दिनुभयो। नेपालको बलिङमा सन्दीप लामिछाने, ललित राजवंशी, करण केसी र नन्दन यादवले समान दुई–दुई विकेट लिनुभयो। नेपाली बलरहरूको प्रभावकारी प्रदर्शनका कारण क्यानडाले लक्ष्य पूरा गर्न सकेन।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा सबै विकेट गुमाएर २३५ रन बनाएको थियो। नेपालको इनिङ्समा कप्तान रोहित पौडेलले उत्कृष्ट शतकीय प्रदर्शन गर्नुभयो। उहाँले १२६ बलमा १०१ रन बनाउनुभयो। त्यसक्रममा उहाँले आठ चौका र एक छक्का प्रहार गर्नुभयो।

नेपालका लागि गुलशन झाले ४८, बसिर अहमदले ३० र अर्जुन कुमालले २३ रन जोड्नुभयो। रोहितको शतकसँगै अन्य ब्याटरको योगदानले नेपाललाई प्रतिस्पर्धात्मक योगफलसम्म पुर्‍याएको थियो।

क्यानडाका बलर अखिल कुमारले नेपालको ब्याटिङक्रमलाई दबाबमा राख्दै चार विकेट लिनुभयो। सुखजिन्दर सिंहले तीन तथा जाहिद सिर्जादले दुई विकेट लिनुभयो। तर, ब्याटिङमा नेपालले दिएको लक्ष्य पछ्याउने क्रममा क्यानडाका ब्याटरहरू सफल हुन सकेनन्। नेपाली बलरहरूले नियमित अन्तरालमा विकेट लिएपछि नेपालले २४ रनको महत्त्वपूर्ण जित निकाल्न सफल भयो।

रोहित पौडेलको शतक र बलरहरूको सामूहिक प्रदर्शन नेपालको जितका प्रमुख आधार बने।