धादिङ, असाेज २५ । पृथ्वी राजमार्गअन्तर्गत धादिङ जिल्लाको गलौदीमा सडक भासिएर पूर्ण रूपमा क्षतिग्रस्त भएपछि बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले स्थलगत निरीक्षण गर्नुभएको छ। उहाँले आज निर्माणस्थलमै पुगेर सडकको अवस्थाबारे जानकारी लिनुका साथै यथाशीघ्र राजमार्ग सञ्चालनमा ल्याउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको हो।
मुख्यमन्त्री थापाका अनुसार हाल सडक एकतर्फी रूपमा सञ्चालनमा आइसकेको छ भने क्षतिग्रस्त सडकको स्तरोन्नति तथा मर्मतसम्भारको काम भइरहेको छ। थप कुनै अवरोध वा अप्रत्याशित घटना नभए आज रातिबाट सडक दुईतर्फी रूपमा सञ्चालनमा आउने उहाँले बताउनुभएको छ।
निरीक्षणका क्रममा मुख्यमन्त्री थापाले नेपालको भौगोलिक बनावट पहाडी भूभागले ढाकिएको उल्लेख गर्दै यस्तो भूगोलमा विकास निर्माणका काम अघि बढाउनु चुनौतीपूर्ण रहेको बताउनुभयो। प्राकृतिक विपत्तिलाई पूर्ण रूपमा रोक्न नसकिने भए पनि त्यसबाट हुने क्षति न्यूनीकरण गर्न विकास निर्माणका कार्यलाई प्रकृति र समयसापेक्ष बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो।
उहाँले हालसम्म अभ्यास हुँदै आएको विकास निर्माणको मोडेलमा सुधार आवश्यक रहेको उल्लेख गर्दै प्रकृतिअनुकूल र समयसापेक्ष विकास निर्माणलाई अघि बढाउन नीतिगत तयारी भइरहेको जानकारी दिनुभयो।
सडक भासिएपछि पृथ्वी राजमार्गमा आवागमन प्रभावित भएको अवस्थामा मुख्यमन्त्रीको स्थलगत निरीक्षण र निर्देशनपछि सडक मर्मत तथा स्तरोन्नतिको कामलाई तीव्रता दिइएको छ। निर्धारित समयमै काम सम्पन्न भए आज रातिदेखि राजमार्गमा सवारीसाधनको आवागमन दुईतर्फी रूपमा सहज हुने अपेक्षा गरिएको छ।













प्रतिक्रिया दिनुहोस्