जनता टाइम्स

२५ आश्विन २०८३, आईतवार २०:१६

कांग्रेस मतगणना : उपसभापतिमा चन्द्रकान्त भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता थप बढ्दै


काठमाडौ, असाेज २५। नेपाली कांग्रेसको जारी मतगणनामा उपसभापति र महामन्त्री पदका उम्मेदवारहरूले प्राप्त गरेको मतपरिणाम सार्वजनिक भएको छ। ४ हजार ६ सय मत गणना हुँदासम्म उपसभापतिमा डा. चन्द्रकान्त भण्डारी र खुला महामन्त्रीतर्फ प्रदीप पौडेलले अग्रता लिनुभएको छ।

सार्वजनिक मतपरिणामअनुसार उपसभापतिमा डा. भण्डारीले २ हजार ३४३ मत प्राप्त गर्नुभएको छ। त्यस्तै, ई. मधु आचार्यले १ हजार ४४१, गोविन्द भट्टराईले १ हजार २१९, सुरेन्द्रराज पाण्डेले १ हजार १५० र धनराज गुरुङले १ हजार ५३ मत प्राप्त गर्नुभएको छ। यसैगरी, दीपक गिरीले ६३८ र प्रा.डा. चन्द्रमोहन यादवले ३८७ मत प्राप्त गर्नुभएको छ।

उपसभापतिको समावेशी एक पदका लागि भएको प्रतिस्पर्धामा विनोदकुमार चौधरीले १ हजार १४५ मत प्राप्त गर्नुभएको छ। उहाँलाई जीवन परियारले १ हजार १०७ मतसहित पछ्याइरहनुभएको छ। त्यस्तै, सीता गुरुङले ७४९, फरमुल्लाह मन्सुरले ६३७ र रञ्जित कर्णले ३५२ मत प्राप्त गर्नुभएको छ।

महामन्त्रीको खुला पदतर्फ प्रदीप पौडेलले सबैभन्दा बढी २ हजार ६५७ मत प्राप्त गर्नुभएको छ। उहाँपछि उदयशमशेर राणाले १ हजार ४९१ र डा. सुनिलकुमार शर्माले १ हजार ३८७ मत प्राप्त गर्नुभएको छ। यसैगरी, अमरसिंह पुन मगरले ९२९, गुरुराज घिमिरेले ९२०, नैनसिंह महरले ६६८ र शंकर तिवारीले ८८ मत प्राप्त गर्नुभएको छ।

महिला महामन्त्रीको एक पदका लागि भएको प्रतिस्पर्धामा डा. डिला सङ्ग्रौला (पन्त) ले २ हजार ३७ मत प्राप्त गर्दै अग्रता लिनुभएको छ।उहाँलाई महालक्ष्मी उपाध्याय (डिना) ले १ हजार ८३८ मतसहित पछ्याइरहनुभएको छ। त्यस्तै, रिता खनालले ४६६ मत प्राप्त गर्नुभएको छ। कांग्रेसको मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी छ। थप मतगणनासँगै उम्मेदवारहरूको मतान्तरमा परिवर्तन हुन सक्नेछ।