काठमाडौं, असोज २८। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेश र राजनीतिक विचार फरक भए पनि राष्ट्र निर्माणको साझा सङ्कल्प एउटै हुनुपर्ने बताउनुभएको छ। उहाँले समृद्ध नेपाल, सशक्त प्रदेश र सुखी नेपालीको लक्ष्य हासिल गर्न सबै प्रदेशबीच आपसी सहकार्य, एकता र साझा प्रतिबद्धता आवश्यक रहेको धारणा व्यक्त गर्नुभएको हो।
दुई दिनसम्म चलेको अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनपछि आफ्नो धारणा सार्वजनिक गर्दै मुख्यमन्त्री थापा मगरले प्रदेश सरकारका अधिकार सुनिश्चित गर्ने, संघीय सरकारले प्रदान गर्नुपर्ने अधिकारको प्रभावकारी कार्यान्वयन गर्ने तथा आवश्यक कानुन निर्माण गर्ने विषयमा साझा सङ्कल्प घोषणा गरिएको जानकारी दिनुभएको छ।
उहाँले राजनीतिक भूगोलले प्रदेशलाई फरक–फरक बनाए पनि नेपालको समृद्धिका लागि सबैको उद्देश्य र प्रतिबद्धता एउटै हुनुपर्ने उल्लेख गर्नुभएको छ। राजनीतिक आस्था र विचारका आधारमा बाटो फरक हुन सक्ने भए पनि राष्ट्र निर्माणको सङ्कल्पमा विभाजित हुन नहुने उहाँको भनाइ छ।
मुख्यमन्त्री थापा मगरले संघीयता शासन सञ्चालनको प्रणालीमा मात्र सीमित नभई जनताको नजिक पुगेर विकास, सुशासन र समृद्धिको आधार निर्माण गर्ने माध्यमसमेत भएको बताउनुभएको छ। प्रदेश सरकारलाई अधिकारसम्पन्न, सक्षम र आत्मनिर्भर बनाउन सके मात्रै संघीय लोकतान्त्रिक गणतन्त्र थप सुदृढ हुने उहाँको धारणा छ।
अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनले प्रदेश सरकारका अधिकार, संघीय सरकारबाट हुनुपर्ने अधिकार हस्तान्तरणको प्रभावकारी कार्यान्वयन, आवश्यक कानुनी व्यवस्था तथा साझा उद्देश्यसँग सम्बन्धित विभिन्न प्रस्ताव, माग र कार्यनीतिलाई समेटेर साझा सङ्कल्प अघि सारेको उहाँले बताउनुभएको छ।
उहाँले आपसी सहकार्य, एकता र साझा संकल्पका साथ संघीयतालाई थप बलियो बनाउँदै समृद्ध नेपाल निर्माणको यात्रामा अघि बढ्न सबै पक्षलाई आह्वान गर्नुभएको छ। “हाम्रो विचार फरक हुन सक्छ, तर राष्ट्र निर्माणको सङ्कल्प फरक हुनुहुँदैन, हाम्रो प्रदेश फरक हुन सक्छ, तर नेपालको समृद्धिका लागि हाम्रो प्रतिबद्धता एउटै हुनुपर्छ,” मुख्यमन्त्री थापा मगरले भन्नुभएको छ।














प्रतिक्रिया दिनुहोस्