जनता टाइम्स

१६ पुष २०७६, बुधबार १८:२७

राष्ट्रपतिद्वारा भ्रमण वर्ष २०२०को शुभारम्भ


काठमाडौं, पुष १६

राष्ट्रिय महोत्सवकै रुपमा मनाउन शुरु गरिएको नेपाल भ्रमण वर्ष २०२० को भब्य शुभारम्भ भएको छ । काठमाडौँको दशरथ रङ्गशालामा भव्य समारोहबीच राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमण वर्षको औपचारिक शुभारम्भ गर्नुभएको हो ।

उद्घाटनअघि राजधानीका विभिन्‍न स्थानबाट जातीय तथा सांस्कृतिक झाँकी निकालिएको छ । नेपालको संस्कृति झल्कने नाचगानबाट शुरू भएको कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको सहयोगमा राष्ट्रगान बजाइएको छ । राष्ट्रगान सकिएलगत्तै बाजासहित रङ्गशालामा भ्रमण वर्ष २०२० को मानव साङ्लो बनाइएको छ ।

कुटुम्ब ब्याण्डको साङ्गीतिक प्रस्तुतिमा विभिन्न सङ्घसंस्थाले परेड गरेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले स्वागत मन्तव्य राख्दै विश्वसामु नेपाललाई चिनाउने यो उपयुक्त अवसर रहेको बताउनु भयो । भ्रमण वर्षको राष्ट्रिय गीतसमेत सार्वजनिक गरिएको छ । भ्रमण वर्षको ‘यति मस्कट’को सार्वजनिकसँगै विभिन्‍न सांस्कृतिक कार्यक्रम आयोजना भएका छन् । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाएर उक्त अवधिमा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ ।