जनता टाइम्स

१२ कार्तिक २०८३, बिहिबार ०८:२०

चक्रवातको प्रभावले नेपालमा भारी वर्षा र हिमपातको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह


काठमाडौं, कात्तिक १२। बङ्गालको खाडीमा विकसित चक्रवात थप शक्तिशाली बन्दै गएपछि नेपालमा पनि यसको प्रभाव पर्ने देखिएको छ। सम्भावित जोखिमलाई मध्यनजर गर्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

प्राधिकरणका अनुसार चक्रवात हिजो भारतको भूभागमा प्रवेश गरिसकेको छ। यसको प्रभाव बिहीबार रातिदेखि नेपालमा सुरु हुने अनुमान गरिएको छ।

चक्रवातको प्रभावका कारण शुक्रबार कात्तिक १३ र शनिबार कात्तिक १४ गते कोशी, बागमती, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा चट्याङ र हावाहुरीसहित मध्यमदेखि भारी वर्षा हुने सम्भावना छ। यी प्रदेशमा वर्षाका कारण जनजीवन प्रभावित हुन सक्ने जोखिम रहेको छ।

त्यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पनि चट्याङ र हावाहुरीसहित मध्यम वर्षा तथा एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ।

उच्च पहाडी तथा हिमाली क्षेत्रमा भने भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम रहेको छ। प्रतिकूल मौसमका कारण विशेषगरी हिमाली क्षेत्रको यात्रा तथा दैनिक गतिविधिमा कठिनाइ हुन सक्ने भएकाले आवश्यक सावधानी अपनाउनुपर्ने देखिएको छ।

सम्भावित विपद्को जोखिम कम गर्न मौसमको अवस्थाबारे नियमित जानकारी लिन, अनावश्यक यात्रा नगर्न तथा चट्याङ, हावाहुरी, भारी वर्षा र हिमपातबाट जोगिन आवश्यक सतर्कता अपनाउनुपर्नेछ।