काठमाडौं, कात्तिक १२। नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूले आज शपथ ग्रहण गर्ने भएका छन्। शपथ ग्रहण र पदबहालीपछि नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठकसमेत आजै बस्ने तयारी गरिएको छ।
ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा दिउँसो २ बजे शपथ ग्रहण समारोह आयोजना हुँदै छ। केन्द्रीय निर्वाचन समितिका अनुसार समारोहमा पार्टी सभापतिबाहेक अन्य सबै नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिनेछन्।
नवनिर्वाचित सभापति गगनकुमार थापाले भने असोज ३१ गते दसैँको फूलपातीका दिन नै पद तथा गोपनीयताको शपथ ग्रहण गरिसक्नुभएको छ।
असोज १८ देखि २३ गतेसम्म काठमाडौंमा सम्पन्न कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम नतिजा असोज ३० गते औपचारिक रूपमा सार्वजनिक गरिएको थियो। निर्वाचनमा सात हजार ३ सय ९२ मतदाताको मतगणना एक साताभित्र सम्पन्न भएको थियो।
महाधिवेशनबाट गगनकुमार थापा ९४ प्रतिशत मतसहित सभापतिमा निर्वाचित हुनुभएको थियो। त्यस्तै, वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा, खुला उपसभापतिमा डा. चन्द्रकान्त भण्डारी र इन्जिनियर मधु आचार्य, महिला उपसभापतिमा पुष्पा भुसाल तथा समावेशी उपसभापतिमा विनोद चौधरी निर्वाचित हुनुभएको थियो।
महामन्त्रीमा प्रदीप पौडेल, उदयशमशेर जबरा र डा. डिला संग्रौला (पन्त) निर्वाचित हुनुभएको थियो।
शपथ ग्रहण तथा पदबहालीपछि बस्ने पहिलो बैठकले महाधिवेशन सफलतापूर्वक सम्पन्न गराउन सहयोग गर्ने महाधिवेशन प्रतिनिधि, केन्द्रीय निर्वाचन समिति, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा पार्टीका नेता–कार्यकर्तालाई धन्यवाद ज्ञापन गर्ने तयारी गरेको छ।














प्रतिक्रिया दिनुहोस्