काठमाडौं, कात्तिक १२। नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले राष्ट्रिय अखण्डता र स्वाधीनताको विषय उठाउँदै सरकार तथा राजनीतिक नेतृत्वप्रति व्यङ्ग्यात्मक टिप्पणी गर्नुभएको छ। उहाँले व्यापार र मुख्यमन्त्रीको हैसियतलाई मात्रै प्राथमिकता दिएर राष्ट्रिय स्वाधीनतालाई बेवास्ता गर्न नहुने आशय व्यक्त गर्नुभएको छ।
बाँस्कोटाले सामाजिक सञ्जालमा लेख्दै ‘नव झोले र भेडा’ भन्दै आलोचकप्रति कटाक्ष गर्नुभएको छ। उहाँले व्यापार र मुख्यमन्त्रीको हैसियत मात्रै चाहिएको तर राष्ट्रिय अखण्डता र स्वाधीनता नचाहिएको हो भने खुलेरै ‘सिक्किम बन्छु’ भन्न चुनौती दिनुभएको छ।
उहाँले आफ्नो टिप्पणीमा ‘प्रभाव र दासत्व फरक हो’ भन्दै बाह्य प्रभाव र पराधीनताबीचको भिन्नता औँल्याउनुभएको छ। साथै, ‘आइजिपी होइन, तातोपानी नाका चलाऊ’ भन्दै प्रहरी नेतृत्वको विषयभन्दा राष्ट्रिय आवश्यकता, स्वाधीनता र सीमासम्बन्धी विषयलाई प्राथमिकतामा राख्नुपर्ने आशय व्यक्त गर्नुभएको छ।
बाँस्कोटाको यो अभिव्यक्ति प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीलाई हटाउन खोजिएको भन्ने चर्चाबीच आएको हो। कार्कीको पदबारे विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भइरहेका बेला उहाँको टिप्पणीले प्रहरी नेतृत्व, राजनीतिक प्रभाव र राष्ट्रिय स्वाधीनताको बहसलाई एकैसाथ जोडेको छ।
यद्यपि, बाँस्कोटाले उक्त टिप्पणीमा कसलाई लक्षित गर्नुभएको हो भन्ने कुरा स्पष्ट रूपमा खुलाउनुभएको छैन। उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएको छ- ‘नव झोले र भेडा आई लाग्नै पर्दैन।केवल व्यापार र मुख्य मन्त्रीको हैसियत चाहिएको हो।तर राष्ट्रिय अखण्डता र स्वाधीनता चाहिएको छैन भने हाकाहाकी सिक्किम बन्छु भन। प्रभाव र दासत्व फरक हो।आइजिपी होइन,तातोपानी नाका चलाऊ।’














प्रतिक्रिया दिनुहोस्