काठमाडौं, कात्तिक १२ । नेपाल प्रहरीले सातै प्रदेशका प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई काठमाडौंस्थित प्रहरी प्रधान कार्यालयमा बोलाएको छ। प्रहरी समन्वय समिति (पीसीसी) को बैठकमा सहभागी हुन उनीहरूलाई बोलाइएको हो।
प्रहरीका एक उच्च अधिकारीका अनुसार सबै प्रदेशका डीआईजीलाई आज मध्याह्न १२ देखि साढे १२ बजेसम्म प्रहरी प्रधान कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको थियो। सोही निर्देशनअनुसार प्रदेश प्रहरी प्रमुखहरू काठमाडौं आउने क्रम जारी रहेको छ।
दिउँसो २ बजेका लागि तय गरिएको पीसीसी बैठक प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको अध्यक्षतामा बस्नेछ। बैठकमा समग्र शान्ति सुरक्षाको अवस्था, प्रहरी संगठनको आन्तरिक व्यवस्थापन र समसामयिक विषयमा छलफल हुने बताइएको छ।
प्रहरी संगठनभित्र नीतिगत तथा महत्त्वपूर्ण निर्णय लिने बैठकका रूपमा रहेको पीसीसीमा डीआईजीभन्दा माथिल्लो दर्जाका प्रहरी अधिकारी तथा काठमाडौं उपत्यकाका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सम्मका अधिकारी सहभागी हुनेछन्।














प्रतिक्रिया दिनुहोस्