जनता टाइम्स

१४ कार्तिक २०८३, शनिबार १९:३७

लगातारको वर्षा रोकिएसँगै देशभर मौसम खुल्न थाल्यो


काठमाडौं, कात्तिक १४ । बिहीबार रातिदेखि लगातार परेको वर्षा रोकिएसँगै देशभरको मौसम खुल्न थालेको छ।

काठमाडौं उपत्यकासहित देशका अधिकांश ठाउँमा वर्षा रोकिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार अहिले कोशी, बागमती र मधेस प्रदेशका केही ठाउँ तथा बाँकी प्रदेशका एक–दुई स्थानमा सामान्यदेखि आंशिक बदली रहेको छ।

महाशाखाका अनुसार शनिबार रातिसम्म अधिकांश ठाउँबाट वर्षा गराउने प्रणाली बाहिरिनेछ। पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै मनाङको ताल मौसम मापन केन्द्रमा १२४ दशमलव २ मिलिमिटर वर्षा मापन भएको छ।

मौसमविद् रोजन लामिछानेका अनुसार बङ्गालको खाडीमा विकसित चक्रवातको अवशेषका रूपमा रहेको न्यून चापीय प्रणाली कमजोर भएकाले धेरैजसो ठाउँमा शनिबार नै वर्षा रोकिनेछ।

जलवायु तथा पर्यावरणविद् उज्ज्वल उपाध्यायका अनुसार कञ्चनजङ्घा, मकालु, सगरमाथा, चोयु, गौरीशङ्कर, लाङटाङ, गणेश, मनासलु, अन्नपूर्ण र धौलागिरि–गुर्जा हिमाली क्षेत्रका दक्षिणी मोहडाका उपत्यका तथा खोँचहरूमा भने आइतबार बिहानसम्म वर्षा र हिमपातको सम्भावना छ।

त्यस्तै, गण्डकी र कोशी जलाधार क्षेत्रका साना नदीहरूमा आइतबार बिहानसम्म बाढीको जोखिम रहेकाले सम्बन्धित क्षेत्रका बासिन्दालाई विशेष सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन्।