जनता टाइम्स

१४ कार्तिक २०८३, शनिबार १९:४०

चन्द्र भण्डारीकाे प्रश्न : विचौलियासँग त्यस्तो के चुम्बक छ, जसले स्वाभिमान र गरिमालाई लाम लगाउँछ ?


काठमाडौं, कात्तिक १४। नेपाली कांग्रेसका उपसभापति डा. चन्द्र भण्डारीले विचौलियाको प्रभाव र स्वार्थका कारण स्वाभिमान, गरिमा तथा मूल्य–मान्यतामाथि प्रश्न उठेको टिप्पणी गर्नुभएको छ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भण्डारीले विचौलियासँग त्यस्तो के चुम्बक रहेको छ, जसले स्वाभिमान, गरिमा र मूल्य–मान्यतालाई समेत लाम लगाउन सक्ने भन्दै प्रश्न गर्नुभएको हो।

उहाँले विचौलियाको प्रभाव पछाडि पद, पैसा वा स्वार्थमध्ये के कारण रहेको छ भन्ने प्रश्नसमेत उठाउनुभएको छ। ‘विचौलियासँग त्यस्तो के चुम्बक छ, जसले स्वाभिमान, गरिमा र मूल्य–मान्यतालाई लाम लगाउन सक्ने ? त्यो चुम्बक पद,पैसा ,स्वार्थ के हो ?’, भण्डारीकाे प्रश्न छ । 

विचौलिया शक्तिशाली भएर नभई आफ्नै स्वाभिमान बिर्सनेहरूलाई पदको भारी बोकाइएका कारण यस्तो अवस्था सिर्जना भएको भण्डारीको टिप्पणी छ। ‘जहाँ इमान बिक्छ, त्यहाँ स्वार्थले शासन गर्छ र प्रश्न व्यक्ति होइन, प्रणालीमाथि पनि उठ्छ,’ उहाँले लेख्नुभएको छ।

आफैँलाई चिन्न नसक्ने व्यक्तिले स्वार्थ र लोभको प्रभावबाट कसरी मुक्ति पाउन सक्छ भन्दै भण्डारीले नैतिकता, स्वाभिमान र संस्थागत प्रणालीमाथि गम्भीर प्रश्न उठाउनुभएको छ। ‘आफैँलाई नचिन्नेले स्वार्थ र लोभको प्रभावबाट कसरी मुक्ति पाओस् ?’, उहाँकाे भनाइ छ।