जनता टाइम्स

१४ कार्तिक २०८३, शनिबार १९:४२

जेन–जी आन्दोलनमा कास्की कारागारबाट फरार बलात्कारका दोषी १५ महिनापछि मुस्ताङबाट पक्राउ


मुस्ताङ, कात्तिक १४ । जेन–जी आन्दोलनका क्रममा कास्की कारागारबाट फरार भएका जबरजस्ती करणी मुद्दाका दोषी ४८ वर्षीय नारायण घिमिरे १५ महिनापछि मुस्ताङबाट पक्राउ परेका छन्।

लमजुङको मर्स्याङ्दीमा होटल सञ्चालन गर्ने क्रममा आफ्नै होटलमा काम गर्ने १६ वर्षीया किशोरीमाथि बलात्कार गरेको अभियोगमा लमजुङ जिल्ला अदालतले घिमिरेलाई ११ वर्ष ८ महिना १ दिन कैद सजाय सुनाएको थियो।

२०८२ साउनमा वर्षाका कारण लमजुङ कारागार भत्किएपछि उनलाई कास्की कारागार स्थानान्तरण गरिएको थियो। तर, भदौ २४ गतेको जेन–जी आन्दोलनका क्रममा कारागारमा अशान्ति भएपछि उनी फरार भएका थिए।

भदौ २५ गते बेलहिया नाका हुँदै भारत पुगेका घिमिरेले मुम्बई र दिल्लीका होटलमा परिचय बदलेर काम गरेका थिए। दिल्लीमा भेटिएका साथीको सल्लाहमा उनी पुस महिनामा नेपाल फर्किएर उपल्लो मुस्ताङ पुगेका थिए।

वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–२, चैलेस्थित ‘प्रमिसा होटल’मा नौ महिना काम गरेका उनी पछि ‘लिवन रेस्टुरेन्ट’मा पहिचान लुकाएर काम गरिरहेका थिए।

नेपाल प्रहरी प्रदेश कार्यालय पोखराका एसएसपी श्यामकृष्ण अधिकारीको निर्देशनमा खटिएको विशेष टोलीले कात्तिक १३ गते उनलाई लिवन रेस्टुरेन्टबाट पक्राउ गरेको हो। पक्राउपछि उनलाई कात्तिक १४ गते पुनः कास्की कारागार बुझाइएको छ।

कास्की कारागारबाट फरार भएका ७५३ कैदीमध्ये ११ विदेशी नागरिकसहित ११० जना अझै फरार रहेको प्रहरीले जनाएको छ। उनीहरूको खोजी अभियान जारी रहेको प्रहरीले बताएको छ।