काठमाडौं, कात्तिक १४ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पत्रकार तथा सञ्चारकर्मीमाथि भएको धरपकडको घटना छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ।
शनिबार बसेको पार्टी सचिवालय बैठकले शुक्रबार समाचार कक्षमै प्रवेश गरेर पत्रकारमाथि धरपकड गर्ने कार्य गलत भएको निष्कर्ष निकालेको हो।
बैठकपछि प्रवक्ता जगदीश खरेलले समाचार कक्षमा पत्रकारमाथि धरपकड गर्ने कार्य किन र कसरी भयो भन्नेबारे छानबिन गर्न सरकारलाई निर्देशन दिएको जानकारी दिनुभयो।
समाचार लेखेकै आधारमा पत्रकार पक्राउ गर्ने र समाचार कक्षमा प्रहरी प्रवेश गर्ने कार्यलाई बैठकले गलत ठहर गरेको उहाँले बताउनुभयो।
रास्वपाको सचिवालय बैठकले दोषीमाथि कारबाही गर्दा कुनै सम्झौता नगर्न र शीघ्र कारबाही गरेर परिणाम देखाउन सरकारलाई आग्रह गरेको छ।
प्रवक्ता खरेलले प्रेस स्वतन्त्रता अक्षुण्ण राख्न आगामी दिनमा समाचारका विषयलाई लिएर पत्रकार तथा प्रकाशकलाई पक्राउ नगर्न सरकारलाई निर्देशन दिइएको बताउनुभयो।
समाचारको विषयलाई लिएर पत्रकार र प्रकाशकलाई सोधपुछ गर्ने कार्य अघि बढेको जानकारी पाएलगत्तै रास्वपाले विज्ञप्ति जारी गरेको उहाँले स्मरण गराउनुभयो।
छानबिनबाट दोषी देखिएकालाई तत्काल कारबाही गर्न निर्देशन दिइएको दोहोर्याउँदै उहाँले रास्वपाकै नेतृत्वमा सरकार रहेकाले पार्टी नेतृत्वसँग समन्वय गरेर अघि बढ्नुपर्ने उल्लेख गर्नुभयो।














प्रतिक्रिया दिनुहोस्