जनता टाइम्स

१४ कार्तिक २०८३, शनिबार १९:४३

कुलेखानी जलाशयमा पानीको सतह बढेपछि पहिलो चरणको चेतावनी साइरन बजाइयो


काठमाडौं, कात्तिक १४ । मकवानपुरको इन्द्रसरोवरस्थित कुलेखानी जलाशयमा पानीको सतह बढ्दै गएपछि सतर्कताका लागि पहिलो चरणको चेतावनी साइरन बजाइएको छ।

जलाशयमा पानीको सतह १ हजार ५२८ दशमलव ५० मिटर पुगेपछि साइरन बजाइएको नेपाल विद्युत् प्राधिकरणअन्तर्गतको कुलेखानी प्रथम जलविद्युत् केन्द्रले जनाएको छ।

केन्द्रका अनुसार थप वर्षा भएर जलाशयको पानी व्यवस्थापन गर्न बाँधका ढोका खोली पानी बाहिर पठाउनुपर्ने अवस्था आएमा थप चेतावनीस्वरूप दोस्रो चरणको साइरन बजाइनेछ।

सम्भावित जोखिमलाई ध्यानमा राख्दै बाँधको तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई खोला तथा नदी किनारबाट टाढा रहन र सुरक्षित एवं अग्लो स्थानमा जान आग्रह गरिएको छ।

त्यस्तै, देउराली–सिस्नेरी सडकखण्डमा यात्रा गर्दा सुरक्षा निकायसँग समन्वय गरेर मात्र आवतजावत गर्न अनुरोध गरिएको छ।