जनता टाइम्स

१७ पुष २०७६, बिहीबार ११:५५

मेट्रोले हटायो सादा पोशाकका २५ घुमुवा प्रहरी


काठमाडौं, पुष १७ ।   महानगरीय कार्यालय (मेट्रो) रानिपोखरीले परिचालन गर्दै आएको सादा पोशाकका प्रहरी (घुमुवा) हटाएको छ ।

विभिन्न खबर संकलनका लागि भनेर राखिएका घुमुवाहरुलाई आजबाट हटाइएको मेट्रोका डिआइज विश्वराज पोखरेलले जानकारी दिनुभयो ।

मेट्रोबाट परिचालित हुँदै आएका २५ जना घुमुवालाई हटाएर उनीहरुलाई दैनिक अपरशेनका काममा लगाइने मेट्रोले जनाएको छ ।

आवश्यकता अनुसार काठमाडौं, ललितपुर र भक्तपुर तीन वटै परिसरका घुमुवाहरु समेत हटाउने तयारी मेट्रोले गरेको छ ।

घुमुवा टोलीको मुख्य काम सूचना संकलन हो ।  आयुक्तको कार्यालयका एक अधिकारीले भने,‘‘घुमुवा टोलीका कारण कतिपय अवस्थामा संगठनकै बदनाम पनि भएको छ । आफ्नो जिम्मेवारीभन्दा अन्यन्त्र लाग्ने गरेका पनि थिए । अब सूचनाको जानकारी युनिटहरुबाटै लिन्छौं ।’’

पछिल्लो समय घुमुवाहरु विभिन्न आपराधिक गिरोहहरु संलग्न रहेको, घुससहित पक्राउ परेका लगायतका घटनाले बद्नाम बन्दै गएका थिए ।