जनता टाइम्स

१८ पुष २०७६, शुक्रबार १०:१६

एटिएमबाट अब दैनिक यति रकममात्र निकाल्न मिल्ने


काठमाडौं, पुष १८

एटीएम मेसिनबाट अब दैनिक एक लाख रुपैयाँ निकाल्न मिल्ने भएको छ । भदौदेखि दैनिक ६० हजार रुपैयाँ मात्र निकाल्न मिल्ने व्यवस्थालाई परिवर्तन गर्दै पुन १ लाख पु¥याइएको हो ।

गत भदौमा चिनियाँ नागरिकले नक्कली एटीएम कार्डबाट रकम चोरीको घटनापछि नेपाल राष्ट्र बैंकले सीमा घटाएको थियो । राष्ट्र बैंकले बिहीबार जारी गरेको एकीकृत निर्देशनमा एटीएम (डेविट कार्ड) कारोबारमा नागरिकले न्यूनतम् ५ सय, प्रतिकारोबार २५ हजार र प्रतिदिन बढीमा एक लाख रुपैयाँ निकाल्न पाउने उल्लेख छ ।

यसअघि प्रति कारोबार २० हजार र प्रतिदिन अघिकतम् ६० हजार रुपैयाँसम्म निकाल्न पाउने व्यवस्था थियो । सम्भावित जोखिम न्यूनिकरणका लागि विगतमा एटीएमबाट रकम निकाल्न मिल्ने सीमा घटाइएकोमा अहिले पुरानै अवस्थामा ल्याइएको राष्ट्र बैंक भुक्तानी प्रणाली विभाग प्रमुख बमबहादुर मिश्रले बताउनु भयो ।

विद्युतीय कार्डमार्फत् हुने कारोबारमा अब अतिरिक्त शुल्क लिन नपाइने व्यवस्था पनि एकीकृत निर्देशनमा गरिएको छ । राष्ट्र बैंकले चालू वर्षको मौद्रिक नीतिमा उक्त घोषणा गरेको थियो । अहिले सोही व्यवस्था कार्यान्वयनका लागि निर्देशन दिएको हो । हाल पोइन्ट अफ सेल (पीएसओ) मार्फत कार्डमार्फतको कारोबारमा विक्रेताले अतिरिक्त शुल्क लिँदै आएका थिए ।