जनता टाइम्स

१९ पुष २०७६, शनिबार ०७:४८

सरकार र आन्दोलनरत सर्लाहीका उखु किसानबीच पाँचबुँदे सहमति (सहमति पत्रसहित)


काठमाडौँ,  पुस १९   । उखु किसानको आन्दोलन स्थगित भएको छ । सरकार र आन्दोलनरत सर्लाहीका उखु किसानबीच पाँचबुँदे सहमति भएपछिको उक्त आन्दोलन स्थगित हो । उद्योगमन्त्री लेखराज भट्टको उपस्थितिमा शुक्रवार साझभएको   वार्तामा सरकारले तोकेको मूल्य दिनेसहित पाँचबुँदे सहमति समेत भएको छ ।

उखु बिक्री गरेबापत चिनी उद्योगबाट लामो समयदेखि भुक्तानी नपाएपछि सर्लाहीका उखु किसान गत शुक्रबारदेखि माइतीघर मण्डलामा प्रदर्शन तथा धर्ना बसिरहेका छन् । सर्लाहीस्थित अन्नपूर्ण चिनी मिलले ५० करोड र महालक्ष्मी सुगर मिलले किसानको २१ करोड रुपिया बक्यौता रकम नदिएको दाबी आन्दोलनरत किसानले गरेका छन् । चिनी मिलले मात्र होइन सरकारले किसानलाई दिने गरेको अनुदान पनि नपाएको गुनासो गर्दै बाध्यात्मक आन्दोलन गर्नुपरेको किसानले बताउँदै आएका छन् ।

यसअघि १५ महिना लामो जिल्ला केन्द्रित आन्दोलन गरेका किसान र चिनी उद्योगीबीच प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा गत जेठ ६ गते भएको पाचबुँदे सहमतिमा असार मसान्तभित्र चिनी उद्योगीले किसानको सम्पूर्ण बक्यौता रकम भुक्तानी गर्ने र केही रकम तिर्न सम्भव नभए कात्तिक मसान्तभित्र भुक्तानी गरिने प्रतिबद्धता व्यक्त गरिएको थियो । सहमतिअनुसार भुक्तानी नपाएका किसानले लामो प्रतीक्षापछि काठमाडौ केन्द्रित आन्दोलन गरेका छन् ।