काठमाडौं, पुस १९ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले नयाँ व्यवस्थामा अझै जनता अभ्यस्त हुन अझै केही समय लाग्ने बताउनु भएको छ । काठमाडौंमा आज आयोजित एक कार्यक्रममा अध्यक्ष प्रचण्डले देशमा बनेको नयाँ परिस्थितिमा जनता अभ्यस्त हुन अझ केही समय लाग्ने बताउनु भएको हो ।
नयाँ संरचनाले फाइदा वा घाटा के गर्छ भन्ने कुरामा नै जनता अन्यौलमा रहेको अवस्था र पुरानो संरचनामा बानी परेका कारण केही समस्या भएको उहाँको निश्कर्ष छ । ‘देशमा नयाँ परिस्थिती बनेको छ । नयाँ परिस्थिती भनेको पुरानो भन्दा भिन्न हुन्छ, भिन्न हुँदा मानिसलाई तुरुन्तै सहज लाग्दैन । पुरानो संरचनामा बानी परेका हामी नयाँ संरचनाले फाइदा गर्ने हो की घाटा गर्ने हो भन्या जस्तो, जसरी हिडिरहेको बाटो सजिलै हिड्न सकिन्छ । नहिडेको बाटो हिड्नुपर्यो भने अफ्ठ्यारो जस्तो महशुस पनि हुन्छ,’ प्रचण्डले भन्नुभयो ।
उहाँले देश संघीय लोकतान्त्रिक गणतन्त्रमा गएर नयाँ संविधान बनेको धेरैलाई मन नपरेको बताउनु भयो । ‘हामी संघीय लोकतान्त्रिक गणतन्त्रमा गयौँ । संविधान बनायौँ, तीन तहको निर्वाचन गर्यौँ । सबै संरचना नयाँ छ । यो अलि गुणात्मक छ, एकथरीलाई भने यो मन परेको छैन । हिजो एकथरी राज गरेकाहरुलाई यो मन पर्दैन । उनीहरु कस्तो राम्रो व्यक्तिगत वर्गको वैभव जस्तो थियो त्यो सबै खोसिदा त मन पर्दैन नी,’ प्रचण्डले भन्नुभयो ।
उहाँले गद्दी नउल्ट्याउँदासम्म, श्रीपेच झिकेर नफाल्दासम्म राजा महाराजाहरुले जनतालाई नपत्याउने बताउनु भयो । ‘उनीहरुले पहिले पत्याउँदैनन, यी जनताले धेरै नबुझेका, धन सम्पत्ति नभएका यी मानिसहरुले हाम्रो राज उल्ट्याउलान, हाम्रो श्रीपेच फाल्लान भनेर पत्याउँदैनन् तर जनता जागेपछि उनीहरुले नपत्याउदाँ नपत्याउँदै पनि गद्दी खोसिदिन्छन् । राज्य उल्टिन्छ । राज्य उल्टेपछि उनीहरुले १० गुणा बढी शक्ति लगाएर राज्य फिर्ता ल्याउन लागि पर्छन,’ प्रचण्डले भन्नुभयो ।
प्रतिक्रिया दिनुहोस्