जनता टाइम्स

१९ पुष २०७६, शनिबार १९:५६

माधव नेपालको निश्कर्ष : जलस्रोत र पर्यटन मुलुकको आर्थिक विकास र समृद्धिको मेरुदण्ड


कञ्चनपुर, पुस २० । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले मुलुकको आर्थिक विकास र समृद्धिका लागि जलस्रोत र पर्यटन मेरुदण्ड भएको बताउनुभएको छ । नेपाल भ्रमण वर्ष–२०२० का अवसरमा आज कञ्चनपुरको बेदकोट नगरपालिकाले पर्यटकीयस्थल बेदकोट ताल क्षेत्रमा आयोजना गरेको स्थानीय जनप्रतिनिधिबीच अनुभव आदानप्रदान कार्यक्रममा नेपालले यस्तो निश्कर्ष सुनाउनु भएको हो ।

‘मुलुकको विकास र समृद्धिका लागि कृषि आधारस्तम्भको रुपमा तथा जलस्रोत र पर्यटन मेरुदण्डका रुपमा रहेका छन,’ पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेता नेपालले भन्नुभयो । उहाँले पर्यटन प्रवद्र्धनका लागि यसअघिका सरकारले पनि पहल गर्दै आएको उल्लेख गर्दै पर्यटकीय हिसाबले विशाल सम्भावना रहेको नेपालमा त्यसको गहन अध्ययन र खोजी सरकारी तबरबाट हुन नसकेको यथार्थ सुनाउनु भयो ।

‘पर्यटककै राय सुझाव सङ्कलन गरेर पर्यटकलाई कसरी आकर्षित गर्न सकिन्छ भनेर गहिरो अध्ययन भएको छैन,’ नेपालले भन्नुभयो, ‘एक राम्रो पर्यटक मुलुकमा भित्रिए तीन जनाको जीवनयापन हुनसक्छ ।’ नेता नेपालले वर्तमान सरकारले भ्रमण वर्ष २०२० मा २० लाख विदेशी पर्यटक भित्र्याउन लागि परेको बताउँदै पर्यटकलाई आकर्षित गर्ने विषयमा पनि हामी जानकार हुनुपर्छ भन्नुभयो ।

‘सन् २०११ मा म प्रधानमन्त्री हुँदा पनि भ्रमण वर्ष मनाएका थियौं,’ नेपालले भन्नुभयो, ‘छिमेकी मुलुकबाट पनि यहाँ धेरै पर्यटक भित्रिन सक्छन् ।’ नेता नेपालले सीमा विवादबारे भारतसित तथ्य र प्रमाणका आधारमा कुरा भएर उक्त विषय छिनोफानो हुनेमा आफू आशावादी रहेको बताउनुभयो ।